खुला सीमाका कारण लागु औषध दुर्व्यसन नियन्त्रण कठिनः डिआइजी कार्की

भाद्र ५, २०८२ |विनोद घिमिरे
खुला सीमाका कारण लागु औषध दुर्व्यसन नियन्त्रण कठिनः डिआइजी कार्की

धनकुटा। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले खुला सीमा र भारतीय बजारमा निर्वाध बिक्री हुने लागु औषधका कारण नेपालमा यसका दुर्व्यसनी बढेको बताउनुभएको छ । मातहतका जिल्लाको निरीक्षणका क्रममा धनकुटा पुग्नु भएका डिआइजी कार्कीले सीमापारीबाट भइरहेको लागुऔषध कारोबारको चपेटामा नेपाली यूवा र विद्यार्थीहरु परिरहेको बताउनुभएको हो ।

लागु औषध ओसारपसार र दुर्व्यसन रोक्न प्रहरीले नार्कोटीक स्पेशल टीम परिचालन गरेको र यसमा प्रहरीले सफलता हासिल गरिरहेको कार्कीको दावी छ । लागु औषध कारोबारीको जरो पत्ता लगाउन परिचालन गरिएको नार्कोटीक स्पेशल टीमको कारबाही कोशी प्रदेशमा नजिताउन्मुख रहेको तर नेपालमा भइरहेको गाँजा उत्पादन, ओसारपसार र सेवन समाजका लागि अर्को चुनौती बनेको उहाँको भनाई छ ।

केहि बर्ष अघि बार्षिक पाँच दश हजार किलो गाँजा फेला पर्ने गरेकोमा पछिल्ला बर्षमा यो परिमाण बढेर ३० हजार किलो पुगेको कार्कीले बताउनुभयो ।

कार्यक्रममा धनकुटा प्रहरीको पूर्वाधार ब्यबस्थापनमा सहयोग गर्ने विभिन्न ब्यक्तिलाई सम्मानित गरिएको छ । यस्तै सोहि कार्यक्रममा डाक्टर रामप्रसाद पोख्रेल आँखा अस्पतालले धनकुटामा कार्यरत ट्राफिक प्रहरीलाई चस्मा उपलब्ध गराएको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।