महिलाकै सङ्घर्षले वर्तमान उपलब्धि हासिल भएको हो : परराष्ट्रमन्त्री देउवा

भाद्र ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
महिलाकै सङ्घर्षले वर्तमान उपलब्धि हासिल भएको हो : परराष्ट्रमन्त्री देउवा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली महिलाहरुको आफ्नै सङ्घर्षले महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घद्वारा बुधबार आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूमिका’ विषयक गोष्ठीको उहाँले महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धि हाँसिल भएको बताउनुभएको हो । “महिलाले महत्वपूर्ण संवैधानिक अधिकार प्राप्त गरेका छन् । त्यो सबै नेपाली महिलाहरुले गरेको सङ्घर्षकै उपलब्धि हो”, उहाँले भन्नुभयो ।

मन्त्री डा. राणाले नेपाली कांग्रेसकै महिला नेतृहरू मङ्गलादेवी सिंहदेखि लिएर शैलजा आचार्यसम्मका महिलाको योगदानको स्मरण गर्दै उहाँहरु र अरु महिला नेतृहरुको लामो सङ्घर्ष र बलिदानीपछि नेपाली महिला आन्दोलनले आजको उपलब्धि हासिल गर्न सकेको स्पष्ट पार्नुभयो ।

उहाँले वर्तमान अवस्था पर्याप्त भने नरहेको र महिलाले अझै धेरै सङ्घर्ष गर्न बाँकी रहेको बताउनुभयो । उहाँले विसं २००७ को क्रान्तिदेखि गणतन्त्रको प्राप्तिसम्मका सबै आन्दोलनमा नेपाली महिलाको सक्रिय सहभागिता रही आएको स्मरण गर्नुभयो ।

“अग्रजहरुकै प्रेरणाबाट हामी महिला अधिकारको सङ्घर्षमा लाग्यौँ र वर्तमान संविधान र नेपालका विद्यमान कानुनमा महिला अधिकारबारे पहिलो पटक राम्रो व्यवस्था गर्ने वातावरण निर्माण गर्न सक्यौँ”, उहाँले भन्नुभयो । 

वर्तमान संविधानले नेपालको सङ्घीय तथा प्रदेश संसद्मा कम्तीमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गर्नु सकारात्मक भएको उहाँको भनाइ थियो । नेपाली कांग्रेसकी नेतृ डा. राणाले यी उपलब्धिको रक्षा गर्दै यो कानुनी सुनिश्चिततालाई अर्थपूर्ण र व्यावहारिक बनाउन महिलाले नै सङ्घर्ष गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो ।

महिला अधिकारको अहिलेको अवस्था त्यसै नआएको र वर्तमान संवैधानिक सुनिश्चितताका लागि संविधान लेख्ने बेलामा आफूहरुले निकै सङ्घर्ष गर्नुपरेको मन्त्री राणाले स्मरण गर्नुभयो । 

उहाँले महिलालाई राजनीतिमा सजिलो नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो समाजमा अहिले पनि पितृसत्तात्मक सोच हाबी नै छ । महिलालाई राजनीतिमा सजिलो छैन । त्यसैले महिलाका लागि महिला नै लाग्नुपर्छ, लड्नुपर्छ भनेर नै हामीले सबै दिदीबहिनीहरुलाई जागरुक गर्यौँ, सशक्त बनायौँ र अधिकारका लागि अघि बढ्न तयार पार्यौँ ।”

उहाँले नेपालमा मात्र नभएर विश्वका अरु देशहरुमा महिलालाई राजनीति गर्न गाह्रो हुने गरेको अनुभव विश्वका नेतृहरुले सुनाउने गरेको बताउनुभयो ।-रासस 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित