कलिलैमा सरकारी सेवामा प्रवेश गरेका धनुषाका शिवकुमारको सुझाव, मिहिनेत गरे नेपालमै रोजगारी पाइन्छ

भाद्र ४, २०८२ |अनिल मिश्र
कलिलैमा सरकारी सेवामा प्रवेश गरेका धनुषाका शिवकुमारको सुझाव, मिहिनेत गरे नेपालमै रोजगारी पाइन्छ

जनकपुर । कर्म र मेहनत गरेमा सफलता अवश्य सम्भव छ । यसको प्रत्यक्ष उदाहरण हुनुहुन्छ- धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १९ वर्षीय किशोर शिवकुमार यादव । 

यादवले लोक सेवा आयोगबाट नायव सुब्बामा नाम निकालेर जागिर खान सुरू गर्नुभएको छ । उहाँको सफलता देखेर मधेश प्रदेशका युवामा लोकसेवाप्रतिको आकर्षण बढेको छ । विगतमा मधेशका युवा प्राविधिक समूहतर्फ मात्र लोकसेवामा आकर्षित हुने गरेको भए पनि अब प्रशासनतर्फ पनि उत्तिकै मोह देखिएको छ ।

२०६३ साल कात्तिक १ गते धनुषाको क्षिरेश्वरनाथ नगरपालिका रमदैया भवाडीमा जन्मिएका १९ वर्षीय शिवकुमार यादव अहिले तनहाुको दमौलीस्थित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा वरिष्ठ प्रशासन सहायक नायव सुब्बाका रुपमा काम गर्न थाल्नुभएको छ । लोक सेवा आयोगले लिएको परीक्षाबाट सरकारी सेवामा छनोट भएका यादवलाई सरकारले गत साउन १४ गतेदेखि यहाँ खटाएको हो ।

धनुषाको रमदैया भवाडीमै रहेको विद्यालयबाट एसईई उत्तीर्ण गरी जनकपुरको एक निजी क्याम्पसमा १२ कक्षामा अध्ययन गर्दै गर्दा यादवले लोकसेवाको तयारी सुरू गर्नुभएको थियो । 

गण्डकी प्रदेश लोकसेवा आयोगबाट पहिलो चोटीमै नाम निकाल्न सफल यादव २०८२ साउन ८ गते पाँचौँ तह प्रशासनमा नियुक्त हुनुभएको थियो । २०७६ सालमा लोकसेवा परीक्षा पास गरी अहिले धनुषाको धनुषाधाम नगरपालिकामा लेखा शाखामा छैठौं तहमा कार्यरत आफ्ना काका शरदकुमार यादवको सफलताबाट प्रेरित भई शिवकुमारले लोकसेवाको तयारी गर्नुभएको थियो ।

शिवकुमारका बाबु देवासी यादव कतारमा १५ वर्षदेखि श्रमिकका रूपमा काम गर्दै आउनुभएको छ । आमा सुनिता गाउँमै हुनुहुन्छ । देवासी र सुनिताका तीन सन्तान मध्ये शिवकुमार जेठो हुनुहुन्छ । 

आठ धुर घडेरीमा बनेको यो सानो घर र १२ कठ्ठा खेत रहेको उहाँहरुको परिवारमा शिवकुमार नायव सुब्बा बनेपछि उल्लास छाएको छ । छिमेकीहरू पनि खुसी भएका छन् ।

पढाईमा सानैदेखि अब्बल शिवकुमार यादवले नायव सुब्बामा सफलता पाएपछि माथिल्लो तहको परीक्षामा पनि तयारी सुरू गरिसक्नुभएको छ । उहाँले अब अधिकृतमा नाम निकाल्ने लक्ष्य रहेको बताउनुभएको छ ।

नेपालमा १२ कक्षा पास गर्नेवित्तिकै विदेशिन खोज्नेहरूको लहर छ । तर शिवकुमार यादव जस्ता युवा देशमै केही गर्ने उत्साहका साथ अध्ययन गर्दै अगाडि बढ्ने जमर्को गरिरहेका छन् । यस्ता युवालाई राज्यले मात्र होइन, आमनागरिकको पनि थप साथ, सहयोग र हौसला चाहिएको छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।


सम्बन्धित