अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत भएकाे ‘यःमरी’ युनेस्को सूचीमा समावेश गर्ने पहल

भाद्र ४, २०८२ |नारायण किलम्बू
अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत भएकाे ‘यःमरी’ युनेस्को सूचीमा समावेश गर्ने पहल

काठमाडौं । नेवार समुदायको जन्म-उत्सवदेखि धार्मिक पर्वहरूमा नभई नहुने परम्परागत परिकार यःमरीलाई सरकारले पहिलो पटक अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकृत गरेको छ । 

यससँगै यःमरीलाई सरकारले युनेस्कोको विश्व सम्पदा सूचीमा समेत सूचीकृत गर्न पहल गर्ने भएको छ । विभिन्न समुदायका जात्रा पर्व, रहनसहनदेखि परम्परागत पोशाकलगायत १ सय ५ वटा आवेदनबाट संस्कृति मन्त्रालयले यःमरीलाई सूचीमा समावेश गरेको हो ।

सरकारले गत वैशाखमा अभौतिक सांस्कृतिक सम्पदा सूचीकृतका लागि आह्वान गरेअनुसार देशभरबाट विभिन्न समुदायका जात्रा, पर्व, कलाकौशल, रहनसहन तथा परम्परागत पोशाकका १ सय ५ वटा आवेदन परेका थिए । जसमा य:मरी सूचीमा पर्न सफल भएको हो । अब य:मरीको स्वादलाई विश्वसामु परिचित गराउन युनेस्को विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने सरकारको योजना छ ।

य:मरी चामलको पिठोलाई तातोपानीमा मुछेर बनाइन्छ । यसभित्र तिल मिसाइएको चाकु वा खुवा राखेर पानीको बाफमा पकाइन्छ । नेपाल भाषामा य:मरीको अर्थ मनपर्ने रोटी हो । 

जाडो याममा खाने य:मरीले शरीरमा उर्जा शक्ति प्राप्ति हन्छ । य:मरी विशेषगरी नेवार समुदायले धान्यपूर्णिमा अर्थात् य:मरी पुन्हीका दिन देवीदेवताको पुजाआजा गरी धार्मिक उत्सवका साथ खाने चलन छ । 

य:मरीलाई अभौतिक सांस्कृतिक सम्पदा सूचीकृत गर्न ललितपुर महानगरपालिकाको संयोजनमा ललितपुरका सम्पूर्ण नेवार समुदायका संघ-संस्थाहरूको अथक प्रयास रहेको छ ।

य:मरी सातौ शताब्दीमा काभ्रेको पनौतीबाट सुरूआत भएको अभिलेख छ । नेवार समुदायको जन्मदिनमा य:मरीको माला लगाएर पुजा गर्ने चलन छ भने चार्डपर्व, शुभकार्य, इष्टदेवता तलेजु, रातो मच्छिन्द्रनाथ र मीननाथको रथजात्रा लगायतमा अनिवार्य रूपमा प्रयोग हुँदै आएको छ ।

युनेस्कोले चीन, भारतलगायत विश्वका धेरै मुलुकका परिकारलाई अभौतिक साँस्कृतिक सम्पदाको रूपमा सूचीकृत गरिसकेको छ । अब त्यो समय आउनेछ- य:मरी चाँडै नै युनेस्कोको सूचीमा सूचीकृत हुँदै विश्वसामु परिचित हुनेछ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


सम्बन्धित