शक्ति राष्ट्रहरू ध्रुवीकृत हुँदै गएका बेला चीन र भारत जान लाग्नुभएका प्रधानमन्त्री ओली चनाखो हुनुपर्ने

असंलग्न परराष्ट्र नीतिअन्तर्गत सम्बन्ध विस्तारमा लाग्न सुझाव
भाद्र ४, २०८२ |दशरथ राई
 शक्ति राष्ट्रहरू ध्रुवीकृत हुँदै गएका बेला चीन र भारत जान लाग्नुभएका प्रधानमन्त्री ओली चनाखो हुनुपर्ने

काठमाडौं । सांघाई सहयोग संगठन-एससीओको शिखर सम्मेलन यही भदौ १५ देखि चीनको तियानजिनमा सुरू हुँदैछ । जहाँ चीन, भारतसहित संगठनका १६ सदस्य मुलुक सहभागी हुँदैछन् र नेपाल पनि आमन्त्रित छ । 

रूस-युक्रेन युद्ध, इजरायल-हमास युद्ध, अमेरिकासँगको व्यापार युद्धलगायतको परिदृश्यका कारण विश्व शक्ति राष्ट्रहरू दुई ध्रुवमा विभाजित भइरहेका बेला हुन लागेको यो सम्मेलन विश्व कूटनीतिका लागि चासोको विषय बनेको छ । 

यस्ता मञ्चहरूलाई शक्ति राष्ट्रहरूले आफ्ना स्वार्थका लागि प्रयोग गर्ने सम्भावना पनि उत्तिकै हुन्छ । यस्तो बेला नेपालले आफ्नो असंलग्न परराष्ट्र नीतिलाई कायमै राखी आफ्ना मुद्दा उठाउनुपर्ने सुझाव कूटनीतिज्ञहरूले दिएका छन् ।

दशरथ राईको रिपोर्ट–

विश्व शक्ति राष्ट्रहरू दुई ध्रुव या बहुध्रुवमा विभाजित भइरहेका बेला यही भदौको दोस्रो सातादेखि चीनको तियानजिनमा सांघाई सहयोग संगठन-एससीओको बैठक हुँदैछ, जहाँ रूस, चीन, भारतलगायतका शक्तिराष्ट्रहरू सहभागी हुँदैछन् । 

शक्ति राष्ट्रहरूले यस्ता मञ्चलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्ने भएका कारण साना देशहरू चेपुवामा पर्ने गरेका छन् । सांघाई सहयोग संगठनमा प्रधानमन्त्री केपी शर्मा ओली नै सहभागी हुन लाग्नुभएकाले दुई शक्ति राष्ट्र चीन र भारतसँग नेपालले आफ्नोपक्षमा प्रष्ट अडान राख्नुपर्ने सुझाव परराष्ट्र विज्ञहरूले दिएका छन् । 

परराष्ट्र मामिलाका केही जानकारहरूले विश्व बहुध्रुवमा विभाजित भइरहेको अवस्थामा नेपालले भारत र चीनसँग मात्र नभएर पश्चिमा शक्ति राष्ट्रहरूसँग पनि सम्वन्ध बढाएर जानुपर्ने सुझाव दिएका छन् ।

परराष्ट्र मामिला जानकार निश्चलनाथ पाण्डे युद्धका कारण विश्व नै अस्थिर बन्दै गइरहेका बेला नेपालजस्ता साना मुलुक आन्तरिक, बाह्य र छिमेक नीतिलाई ख्याल गरेर अघि बढ्नुपर्ने सुझाव दिनुहुन्छ ।

सत्तारूढ नेपाली कांग्रेस र एमालेका नेताहरूले नेपालले अंगाल्दै आएको असंलग्न नीतिलाई कायमै राख्दै दुबै छिमेकी मुलुकबाट भरपुर सहयोग लिन सक्नुपर्ने र देखिएका आपसी समस्या सुल्झाएर जानुपर्नेमा जोड दिएका छन् ।

विश्व बहुधुव्रमा धुव्रीकृत भइरहेका बेला नेपालले अबलम्वन गर्दै आएको असंलग्न नीतिलाई कायमै राख्ने गरी कूटनीतिक माध्यमबाट अझ प्रष्ट रूपमा आफ्ना कुरा भन्न सक्नु पर्दछ । 

सांघाई सहयोग संगठनको शिखर सम्मेलन होस् या त्यसलगत्तै हुने भारत भ्रमण, दुवै भ्रमणबाट नेपालले पारस्परिक लाभको विषयलाई प्राथमिकता साथ उठाउनु पर्दछ ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।


सम्बन्धित