कैलाली कारागार झडप छानबिन समितिको प्रतिवेदन : विषेशज्ञसहितको उच्चस्तरीय प्राविधिक टोली गठन गर्न सुझाव

भाद्र ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
कैलाली कारागार झडप छानबिन समितिको प्रतिवेदन : विषेशज्ञसहितको उच्चस्तरीय प्राविधिक टोली गठन गर्न सुझाव

कैलाली । गत साउन २३ गते राति एक जनाको ज्यान जाने गरी कैलाली कारागारमा रहेका बन्दीहरूबीच भएको झडपको अनुसन्धान गर्न गठित समितिले घटनाको यथार्थ छानबिनका लागि विषेशज्ञ सहितको उच्चस्तरीय प्राविधिक टोली गठन गरिनुपर्ने रायसहितको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाएको छ ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले घटनाको यथार्थ छानबिनका लागि विषेशज्ञसहितको उच्चस्तरीय प्राविधिक टोली गठन गरिनुपर्ने रायसहितको प्रतिवेदन बुधबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई बुझाएको हो । 

घटनाको सिसिटीभी फुटेज पनि प्रस्ट नभएको र त्यसको फरेन्सिक जाँच नगरी घटनामा संलग्नहरूलाई ठम्याउन नसकिएको समतिले जनाएको छ । कारागारको आन्तरिक प्रशासन सञ्चालानका लागी कैदीबन्दीबाट चयन गरिने नाइके, सहनाइके र चौकीदार को हुने भन्ने विवादले उग्ररुप लिएपछि कारागारमा झडप भएको थियो ।

झडपमा घाइते भएका ४७ कैदीबन्दीमध्ये ४१ जनाको अहिले पनि सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनाका मुख्य नाइके मानिएका ३ जनालाई केन्दीय कारगार, ३ जना लाई कञ्चनपुर र १ जनालाई नवलपरासी स्थानान्तरण गरिएको छ । 

१ सय ५० जनाको क्षमता रहेको कारागारामा अहिले ६ सय ९७ जना बन्दी राखिएको छ । बन्दी धेरै भएकाले फेरि घटना दोहोरिन नदिन उच्च सुरक्षा सर्तकता अपनाउनु पर्ने सुझाव समितिको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा गठित छानबिन समतिमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित