उपसभामुखलाई हटाउन खोजेको भन्दै प्रतिनिधि सभामा विपक्षी दलहरूकाे आपत्ति

भाद्र ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
उपसभामुखलाई हटाउन खोजेको भन्दै प्रतिनिधि सभामा विपक्षी दलहरूकाे आपत्ति

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेको भन्दै प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा रास्वपा, माओवादी केन्द्र, राप्रपालगायतका दलले संवैधानिक परिषद्‌मा बहुमत पुर्याउन उपसभामुख इन्दिरा रानालाई सत्ता पक्षले हटाउन खोजेको भन्दै आपत्ति जनाएका हुन् । 

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सत्तारूढ दलले सिंहदरबारमा प्रहसन देखाएको आरोप लगाउँदै यो लोकतन्त्रका लागि नै ठूलो खतरा भएको बताउनुभयो । उहाँले उपसभामुखलाई अपमान गरेर सत्ता पक्षले रास्वपालाई समेत निषेध गर्न खोजिएको आरोप लगाउनुभयो ।

विपक्षी सांसदहरूले कांग्रेस र एमालेले देशलाई दुई दलीय शासन पद्दतिमा लैजान खोजेको आरोप लगाएका छन् । राप्रपाकी सांसद रोशन कार्कीले उपसभामुखलाई हटाउन खाली कागजमा हस्ताक्षर गरेको भन्दै कांग्रेस र एमालेका सांसदहरूको आलोचना गर्नुभयो । 

कार्कीको भनाइमा एमालेका सांसद सूर्य थापाले नियमापत्ति जनाउनुभयो । उहाँले लान्छना र गालीगलौजपूर्ण अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्नुभयो ।

बैठकमा महिला सांसदहरूले संसद्‌मा महिला समन्वय समिति गठनको माग गरे । समिति गठनमा ढिलाइ भएकोप्रति उनीहरूले सभामुखको ध्यानाकर्षण गराएका छन् । यस्तै सांसदहरूले राज्य व्यवस्था समितिको सभापति चयन गर्न पनि माग गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित