सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाको-१४ मा पर्ने सर्रेअम्बास राईरैनी, जहाँबाट २०४६ सालमा मदन भण्डारी तत्कालीन नेकपा मालेको महासचिव चुनिनु भएको थियो ।
त्यसयता एमालेका ठूल्ठूला नेताहरू त्यहाँ गइरहन्छन् । त्यहाँ पुग्ने नेताहरू सबैले विकास गर्ने वाचा दोहोर्याइरहन्छन् । तर, अझै बाटो नै नपुगेको यो बस्तीका बासिन्दा खोला भएर आउजाउ गर्नुपर्छ ।
मेरो पृष्टभूमिमा देखि रहनुभएको यही घरमा २०४६ सालमा तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन भएको थियो । सोही महाधिवेशनबाट मदन भण्डारी नेकपा मालेको महासचिव चुनिनुभएको थियो ।
सिरहाको धनगढीमाई नगरपालिका १४ सर्रेअम्बास राईरैनीमा पर्ने यो घरमा गत वर्ष भदौमा नेकपा एमालेको सचिवालय बैठक समेत बस्यो । बैठकमा नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहितका एमालेका शीर्ष नेताहरू त्यहाँ आउनुभयो । उहाँहरूले त्यसक्रममा यो बस्तीको नमूना ढंगले विकास गर्ने बाचा गर्नुभएको थियो । तर, हालसम्म पनि यो बस्तीको अवस्था जस्ताको त्यस्तै छ ।
चुरेको काखमा पर्ने सर्रेअम्बास राइरैनीका झन्डै दुई दर्जन परिवार सामान्य आधारभूत आवश्यकताबाटै वञ्चित छन् । त्यहाँ बिजुली त छ । तर, आउनजाने टुंगो हुँदैन । सरकारले हरेक नागरिकलाई स्वच्छ र सफा पानी खुवाउँछौं भन्ने दाबी गरिरहँदा त्यहाँका नागरिक भने अझै इनारको दूषित पानी खाएर प्राण धान्दैछन् ।
त्यहाँको सबैभन्दा ठूलो समस्या बाटोको हो । अपत्यारिलो लाग्ला, तर बस्तीको बीचैबाट बग्ने सर्रे खोला नै त्यहाँका सर्वसाधारणका लागि आउजाउ गर्ने मूल बाटो हो । खोलामा बाढी आउँदा त्यहाँका नागरिक गाउँमै थुनिनुपर्ने स्थिति बन्छ । पैदल वा साइकल, मोटरसाइकल चढेर जान अनेक सास्ती र जोखिम झेल्नुपर्ने यो बस्तीमा एम्बुलेन्स जाने त कुरै भएन ।
भौगोलिक हिसाबले ठूलो तर विकट यो सिंगो वडा नै यस्तै समस्याहरूले आक्रान्त छ । त्यहाँको विकासका लागि ठूलो बजेट चाहिने तर यसका लागि माथिल्ला तहबाट खासै सहयोग नपाउँदा कठिनाइ भइरहेको स्थानीय सरकारका प्रतिनिधि गुनासो गर्छन् ।
मदन भण्डारीको साइनो जोडिएको यो ठाउँमा एमालेका ठूल्ठूला नेताहरूमध्ये नआउने सायदै होलान् । अहिले केन्द्रमा एमालेले नै सरकारको नेतृत्व गरिरहेको छ । मधेश प्रदेश सरकारमा समेत महत्वपूर्ण मन्त्रालय चलाइरहेको यो पार्टीले नै धनगढीमाई नगरपालिकाको पनि नेतृत्व गरिरहेको छ ।
यसका बाबजुद पनि यो ठाउँको विकास किन हुन सकिरहेको छैन ? प्रश्न अनुत्तरित छ ।