पाकिसकेको खाना छाडेर हिँडेका विनोद कहिल्यै नआउने गरी अस्ताए !

आश्विन १, २०८२ |कृपाल गौतम
पाकिसकेको खाना छाडेर हिँडेका विनोद कहिल्यै नआउने गरी अस्ताए !

काठमाडौं । जेन-जी आन्दोलनका सहिद ललितपुरका विनोद महर्जनको ललितपुर सुन्धारास्थित घरमा हामी पुग्दा घरमा टेको लगाइएको थियो । 

पुरानो घर भएकाले कुनै पनि प्राकृतिक विपतमा सुरक्षित होस् भनेर विनोदले नै टेको लगाउनुभएको हो । तर आज उहाँ नै हुनुहुन्न । जेन-जीले गरेको प्रदर्शनका क्रममा भदौ २३ गते प्रहरीले बानेश्वरमा चलाएको गोली लागेर विनोद सहिद हुनुभयो । 

तीन दिदी र दुई दाजुभाई मध्येका कान्छो भाइ विनोदको कुनै राजनीतिक दलसँग आवद्धता थिएन । विन्दास स्वभावका उहाँमा देशका लागि केही गर्नुपर्छ भन्ने हुटहुटी भने थियो । शहरमा आन्दोलन सुरू हुनै लागेका बेला आमाले पाकिसकेको खाना खान आउभन्दा एकैछिनमा आउँछु भनेर बाहिरिएका विनोद कहिल्यै नआउने गरी अस्ताउनुभयो ।

हस्तकलासहितका कलाकारितामा पोख्त विनोद जे भेट्यो त्यसलाई सिंगारिदिनुहुन्थ्यो । उहाँले घरका भित्तामा विभिन्न नारासहितका चित्र बनाउनुभएको छ । घर, कोठा, भित्ता मात्र नभएर ट्युबलाइटसमेतमा उहाँले रंग भर्नुभएको छ । अहिले परिवारका सदस्यहरू विनोदले बनाएका चित्र हेरेर सम्झिरहेका छन् ।

विनोदको परिवार अहिले शोकमा छ । सरकारले उहाँलाई सहिद घोषणा गरेको छ । भ्रष्टाचार र बेथितिविरूद्धको आन्दोलनमा होमिएका विनोद जस्ता सहिदको योगदान खेर नजाओस् भन्ने कामना परिवारका सदस्यहरूको छ ।

विनोदकी दिदीले भने जस्तै यो घटनाको छानबिन हुनुपर्छ । सरकारले छानबिन गरी निर्दोष युवामाथि गोली बर्साउने र आदेश दिनेहरूलाई कारबाही गर्नुपर्छ । त्यति मात्र होइन, विनोद जस्ता सहिदहरूले उठाएको भ्रष्टाचार र बेतिथि अन्त्य हुनुपर्छ । अनि मात्र सहिदले बगाएको रगतको कदर हुने छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।