भारतीय विदेश सचिव मिश्रीको कुटनीतिक दौडधूप: प्रधानमन्त्रीदेखि शीर्ष नेतासम्म भेटवार्ता

भाद्र १, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारतीय विदेश सचिव मिश्रीको कुटनीतिक दौडधूप: प्रधानमन्त्रीदेखि शीर्ष नेतासम्म भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीको तर्फबाट औपचारिक निम्ता दिन आएका विदेश सचिव विक्रम मिश्रीले आएकै दिन राष्ट्रपतिदेखि समकक्षी अमृत राईसम्मलाई भेटेर दुई पक्षीय हित र चासोबारे छलफल गर्न भ्याउनुभयो ।

बिहान ९ बजे विशेष विमानबाट काठमाडौं आइपुग्नु भएका उहाँले सुरुमा सिंहदरबार पुगेर प्रधानमन्त्रीसँग वार्तालाप गर्नुभयो । त्यसपछिको भेट शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँगको थियो ।

त्यहाँबाट बुढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग अनि ललितपुरको खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भेटवार्ताको व्यस्त तालिका थियो ।

पूर्वप्रधानमन्त्रीद्वयसँगको भेटपछि फेरि सिंहदरबार फर्केर परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटवार्ता गर्नुभयो । त्यसपछिको पालो थियो परराष्ट्र सचिव अमृत राईसँगको वार्तालाप । उक्त भेटवार्तापछि भारतीय विदेश सचिव मिश्री परराष्ट्र सचिव राईले आयोजना गरेको रात्री भोजमा सहभागी हुनुभयो ।

सबैजसो भेटवार्तामा दुई पक्षीय हित र चासोबारे छलफल भनिएको छ । तर भारतीय विदेश सचिव मिश्रीको आज दिनभरको कुटनीतिक दौडधूप राजनीतिक चासोको विषय पनि बन्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.