देशभर विभिन्न स्थानमा जात्रा र रथयात्रा सम्पन्न: राजवंशीको दधिकादोदेखि पाल्पाको भगवती खटयात्रासम्म

भाद्र १, २०८२ |कान्तिपुर टीभी संवाददाता
देशभर विभिन्न स्थानमा जात्रा र रथयात्रा सम्पन्न: राजवंशीको दधिकादोदेखि पाल्पाको भगवती खटयात्रासम्म

काठमाडौं । गठेमङ्गलको दिनदेखि सुरू भएको स्थानीय जात्रा र रथयात्रा आइतबारदेखि विधिवत रूपमा सम्पन्न भएका छन्।

झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने आदिवासी राजवंशी समुदायले आइतबार दधिकादो पर्व धुमधामका साथ मनाएका छन् । झापाको विर्तामोड, घैलाडुब्बा, डाँगीवारी, शिवगञ्ज, हल्दीवारी, राजगढमा धुमधामले हिलो खेलेर दधिकादो मनाइएको हो । भगवान् श्रीकृष्ण जन्मेको खुशीयालीमा गोपालवंशीहरू दहीमा लडीबुडी गरी खुशीयाली मनाएको सम्झनामा राजवंशी समुदायले दधिकादो मनाउने गरेका हुन् ।

उता पाल्पाको तानसेन भगवती खटयात्रामा सयौं श्रद्धालुको सहभागी भए । आज नवमीका दिन नगरपरिक्रमा गराइ रथयात्रा सम्पन्न गरिएको हो । नेपाल-अंग्रेज युद्धमा तत्कालीन कर्णेल उजीरसिंह थापाले नुवाकोट जितगढी किल्ला विजय गरेको सम्झनामा भगवतीको खटयात्रा २०६ वर्षदेखि निरन्तर निकालिँदै आएको छ ।

त्यसैगरि भोजपुरमा लाखेजात्रा पुजाआजासँगै आजै रातिदेखि सम्पन्न गरिदैँछ। कृष्ण र कंशको नृत्य प्रदर्शन गरी समापन गरिएको लाखे सेवा समाज भोजपुरका अध्यक्ष विनम श्रेष्ठले बताउनुभयो ।

उता श्रीकृष्ण जन्मअष्टमीको भोलिपल्ट निकालिने राधाकृष्णको रथयात्रा सुनसरीको इटहरी सहित ११ वटा स्थानीय तहमा नचाइएको छ । रथयात्रामा झन्डै दुई दर्जनको संख्यामा विभिन्न झाँकी तथा भजन मण्डलीहरूले सहभागिता थियो । झापाको भद्रपुरमा पनि आज श्रीकृष्णको रथयात्रा निकालियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.