काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवन्द्र दाहालले यस वर्षको दशैँ-तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने बताउनुभएको ।
प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको आइतबारको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताउनुभएको हो । इन्धनको मूल्यअनुसार भाडा घट-बढ गर्ने प्रावधान भए पनि चाडपर्वका बेला यात्रु थप मारमा नपरून् भन्ने उद्देश्यले यस वर्ष भाडा नबढाउने योजना रहेको उहाँको भनाइ छ ।
उहाँले यात्रुको भीडभाड चाँडबाँडको बेलामा भाडा नबढाउन यातायात व्यवसायीहरूलाई आग्रह गरेको पनि बताउनु भयो । उहाँले यातायात व्यवसायीहरूसँग छलफलमार्फत सार्वजनिक यातायातको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार क्रियाशील रहेको पनि बताउनु भयो ।
उहाँले प्रदेशस्तरमा रहेका सडक आयोजनाहरू प्रदेश सरकारलाई नै हस्तान्तरण गर्ने उद्देश्य रहेको बताउनु भयो । निर्माणाधिन सडकका सम्बन्धमा ज्यालादारी कामदारसहित प्रदेश सरकारलाई सडक आयोजनाको जिम्मा दिने तयारी भइरहेको मन्त्री दाहालको भनाइ छ ।