काठमाडौं । झन्डै २ वर्षदेखि हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीकी आमा र बहिनी साेमबार इजरायल गएका छन् ।
साेमबार बिहान विपिनकी आमा पद्मा र बहिनी पुष्पा इजरायली दूतावासको सहजीकरणमा इजरायलतर्फ प्रस्थान गरेका हुन् । एक साताका लागि इजरायलमा रहँदा विपिनको अवस्थाबारे बुझ्ने प्रयास परिवारले गर्नेछ ।
इजरायल सरकारले नै बोलाएपछि नेपालस्थित इजरायली दूतावासको सहयोगमा उहाँहरू एक साताका लागि त्यसतर्फ जानुभएको हो। इजरायल जानुअघि कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै विपिनकी बहिनी पुष्पा जोशीले आफ्नो इजरायल भ्रमणमा नेपाल सरकारको कुनै सहयोग नरहेको बताउनुभयो ।
इजरायलमा रहँदा के-के गर्ने र कस-कसलाई भेट्ने भन्नेबारे भने आफूहरूलाई पर्याप्त जानकारी नभएको उहाँको भनाइ छ । यसअघि विपिनको रिहाइका लागि आफूहरू संयुक्त राष्ट्रसंघसम्म पुग्ने बताइरहेको परिवारले अमेरिका जानेबारे भने केही बताएन । तर अमेरिकाको भिसा भने लागिसकेको विपिनकी आमा पद्मा जोशीले जानकारी दिनुभयो। छोरालाई छुटाउन नेपाल सरकारले समयमा पर्याप्त पहल नगरेको उहाँले गुनासो गर्नुभयो ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा अध्ययनका लागि त्यहाँ रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशीलाई भने हमासले बन्धक बनाएको थियो ।
सरकारले विपिनको रिहाइका लागि कूटनीतिक पहल जारी रहेको बताउँदै आए पनि झन्डै २ वर्षमा कुनै प्रगति भएको छैन ।
विपिनकी आमा र बहिनीसँगको पूरा कुराकानी आज राति ९ बजे कार्यक्रम फायरसाइडमा प्रसारण हुनेछ । कार्यक्रम कान्तिपुर टेलिभिजनको युट्युब च्यानलका साथै कान्तिपुर टिभी एपमा पनि हेर्न सकिनेछ ।