जाजरकोटको कोलचौरमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

श्रावण २६, २०८२ |सरोज वली
जाजरकोटको कोलचौरमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

जाजरकोट / जाजरकोटको भेरी नगरपालिका–१ कोलचौरस्थित कल्ले खोलामा सोमबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रुकुम पश्चिम, मुसिकोट नगरपालिका–१३ को उदय युवा क्लबको भे १ च २२४७ नम्बरको एम्बुलेन्स भित्री कच्ची सडक हुँदै मैदे जाँदै गर्दा सडकबाट करिब १०० मिटर तल खस्दा चालक २७ वर्षीय सुनिल चदाराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

घटनाबारे वडाअध्यक्ष दिपक रानाले बिहान ८ बजे प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी पोस्ट रावतगाउँका प्रहरी नायब निरीक्षक विरबहादुर थापाको कमाण्डमा पाँच जनाको टोली खटिएको थियो। साथै, थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक हरीराम डाँगीको नेतृत्वमा अर्को पाँच जनाको टोली समेत घटनास्थल पुगेको थियो ।

घटनास्थलमा प्रारम्भिक कार्य सम्पन्न गरी बिहान १०:५५ बजे मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ ।


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।


सम्बन्धित