सिरहा । मधेशको लाइफलाइन मानिने हुलाकी सडकअन्तर्गत कमला नदीको पुल १४ वर्षभन्दा लामो समयदेखि निर्माण भइरहेको छ । तर, अझै यो पुल बन्न नसक्दा त्यहाँका नागरिकले भोग्नुसम्मका सास्ती भोग्दै आएका छन् ।
बर्खे भेलमा समेत सर्वसाधारणले जोखिम मोलेरै भए पनि डुंगाको साहारामा आउजाउ गर्न बाध्य छन् । यो हेर्दा सामान्य लाग्ला । न इन्जिन छ, न त मेसिन । तर, जबजब कमलामा बाढी आउँछ, तब काठैकाठले बनेका यिनै डुंगाहरू हुलाकी सडक भएर हिड्ने सर्वसाधारणका लागि आउजाउ गर्ने साहारा बन्छ ।
यी डुंगा नभइदिएका भए वारिका मानिस वारि, पारिका पारी नै रहने अवस्था हुन्थ्यो । किनकि, त्यहाँ पुल नै छैन । पछिल्लो समय कमलामा आएको बाढीपछि अहिले यही दुई डुंगा सर्वसाधारणका लागि साहारा बनिरहेको छ ।
सिरहा नगरपालिका-६ स्थित बसबिट्टा घाटमा चल्ने यी दुई डुंगाले दैनिक एक हजारसम्म सर्वसाधारणलाई वारिपारी गराइरहेका हुन्छन् । एउटै डुंगा चलाउनका लागि तीनदेखि पाँच जनासम्म खटिनुपर्छ ।
मधेशको लाइफलाइन मानिने हुलाकी सडकको कमला नदीको पुलको निर्माण सुरू भएको १४ वर्षभन्दा बढी भयो । चार सय ६९.२ मिटर लामो पुलको निर्माण २०६८ जेठ ३१ बाटै थालिएको थियो । तर, पटक-पटक म्याद थप भएर १० वर्षमा निर्माणको अन्तिम चरणमा पुगेको यो पुल २०७८ असार १७ मा सामान्य बाढी थेग्न नसकी भासिएको थियो ।
पुल भासिएपछि पुनः पुनर्निर्माण थालिएको भनिए पनि यति सुस्त ढंगले काम भइरहेको छ कि पुल बन्न नबन्ने कुरा अनिश्चितजस्तै छ । कमलामा पुल नहुँदा सर्वसाधारणले वर्षौंदेखि भोग्नुसम्मका सास्ती भोग्दै आएका छन् ।
पुलको अभावमा सर्वसाधारणको साहारा बन्दै आएको डुंगाको यात्रा त्यति सुरक्षित भने हुँदैन । यसैकारण वर्षेनि कमलामा दुर्घटना भइरहन्छ । त्यहाँका नागरिक अगुवाहरूले कमला पुलका लागि पटक-पटक आन्दोलन नै गर्दै आएका छन् ।
मुलुकमा अहिले तीन तहका सरकार छन् । तर, कुनै पनि सरकारले आन्दोलनको माग र सर्वसाधारण पीडालाई सम्बोधन गर्न सकेको छैन । राज्य हाक्नेहरूलाई प्रश्न छ, कमलामा नागरिकले भोगिरहेको यो नियतिले पोल्छ कि पोल्दैन ?