भारतको उत्तराखण्डमा बाढी: ७ नेपालीको मृत्यु, ६ बेपत्ता

श्रावण २२, २०८२ |सरोज वली
भारतको उत्तराखण्डमा बाढी: ७ नेपालीको मृत्यु, ६ बेपत्ता

जाजरकाेट । गत मंगलबार भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्षित क्षेत्रमा गएको भीषण बाढीपहिरोमा परी जाजरकोट र जुम्लाका ७ जनाको मृत्यु भएको छ । जाजरकोटको कुशे गाउँपालिका-२ टालेगाउँका ६ जना र जुम्लाका एक जनाको मृत्यु भएको हो ।

रोपाइँ सकेर कामको खोजीमा भारत गएका उनीहरूको बाढीमा परी मृत्यु भएको हो । मृत्यु हुनेहरूमा कुशे गाउँपालिका-२ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, तिलबहादुर सिंह, रबिन सिंह छन् । 

मृतक एक जनाको नाम नखुलेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिनुभयो । बाढी पहिरोमा परेर अझै ६ जना बेपत्ता रहेको परिवारका सदस्यले दिएको जानकारी दिएको अध्यक्ष बस्नेतले बताउनुभयो । अर्का मृतक जुम्ला कुडारीका जनकबहादुर शाही रहेको बताइएको छ ।

कुशे गाउँपालिकाले बुधबार विज्ञप्ति जारी गरी बेपत्ता भएकाहरूको खोजीका लागि आवश्यक कूटनीतिक पहल गर्न संघीय सरकारलाई आग्रह गरेको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले घटनाबारे कुशे गाउँपालिकाले निकालेको विज्ञप्तिलाई आधिकारिक मानेर गृह मन्त्रालयसँग उद्धार र खोजी कार्यका लागि आवश्यक समन्वय गरिदिन पहल गरेको बताउनुभयो ।

गाउँपालिकाले सम्पर्कविहीन भएकाहरुको खोजी तथा उद्धार गरिदिने संघ सरकारमार्फत भारत सरकारलाई आग्रह गरेको छ । यसैबीच नयाँ दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर प्रकाश मल्लले उत्तराखण्डको बाढीमा बेपत्ता नेपालीको खोज तथा उद्धार गरिदिन भारतीय पक्षसँग पहल गरिरहेको बताउनुभएको छ ।


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।