बाढी गएको १० महिना बित्दा पनि पुनःस्थापनाको काम ठप्प, खानी र क्रसर यथावत् चल्दा स्थानीय त्रासमा

श्रावण २२, २०८२ |पुजन धिताल
बाढी गएको १० महिना बित्दा पनि पुनःस्थापनाको काम ठप्प, खानी र क्रसर यथावत् चल्दा स्थानीय त्रासमा

काभ्रेपलाञ्चोक । गत वर्ष असोज ११ गते मध्य रातिको अत्यास लाग्दो बाढी गएको १० महिना पुरा भयो। बाढीले सबैभन्दा बढी क्षति हुने मध्ये काभ्रे जिल्ला पनि हो । जहाँ अझै पनि बाढी पहिरोले क्षति भएकाहरूको घर बन्न सकेको छैन । 

सरकार, सामाजिक संस्था र स्थानीय सरकारको सहयोगमा सामान्य राहत र अस्थाई आवास सम्मको सुविधाबाहेक अरू दैनिकी उस्तै छ । जिल्लाकै धेरै क्षति भएको ठाउँका नागरिक अहिले पनि पानी पर्दा डरै-डरमा बाँचिरहनु परेको छ ।

पनौती नगरपालिका भित्र मात्र ६ सय ३४ घर पूर्ण रूपमा क्षति भए, त्यसमा पनि सबै भन्दा बढी क्षति वडा नं-१२, रोशीको रोशी खोला नजिकै रहेको बस्तीमा भएको थियो । रोशी खोला उर्लेर आउँदा खोला छेउका घर पसल सबै बाढीले बगाएको घटना अहिले पनि स्थानीयले बिर्सन सकेका छैनन् ।

बाढीले बिस्थापितहरू अहिले कोहि डेरा गरेर बसिरहेका छन् भने कोहि जोखिमकै बिच दिन काटिरहेका छन । बाढीले घर बगाएपछि डेरामा बसिरहनु भएका लोक विक्रम केसी अहिले पनि खानी र क्रसर चलिरहेका कारण जोखिम उस्तै रहेको बताउनुहुन्छ । 

बाढी पछि नेता र उच्च कर्मचारी आएर हेरेर गए पनि समस्या समाधानको पहल नभएको भन्दै यो वर्ष के हुने हो भन्ने पिर केसीमा छ । बाढी र पहिरोको मुल कारण मानिएको खानी र क्रसर अहिले पनि चलिरहेका छन । जसका कारण अब बाढी आइहाले झन ठुलो क्षति हुने डर स्थानीयमा छ ।

पनौतीको वडा न–२ र १२ को सिमाना क्षेत्रमा मात्र दर्ता भएका ११ वटा खानी तथा क्रसर संचालनमा रहेका छन । बाढी गएको क्षेत्रमानै खानी तथा क्रसर सञ्चालनमै रहेका कारण कतिपय नागरिक डरले बिस्थापितनै भइसकेका छन ।

समस्या समाधानका लागि ठोस पहल नहुँदा बालबालीका पनि उस्तै त्रासमा छन ।स्थानीय भालेश्वर माविमा कक्षा ७ मा अध्ययन गर्ने आयुस्का केसी पानी परेपछि स्कुल जानै डर लाग्ने बताउनु हुन्छ ।

गत वर्षको बाढीले मानविय संगै अर्बौको भौतिक क्षति हुँदा पनि प्रदेश र संघ सरकारले नसघाएको र समस्या समाधानको पहल नगरेको स्थानीय सरकारको गुनासो छ ।

बाढी आएको १० महिनासम्म पनि पुनःस्थापनाको काम हुन सकेको छैन । बरु बाढी र पहिरोको जोखिम भएको क्षेत्रमानै खानी र क्रसर भने निर्बाध रुपमा सञ्चालन भइरहेका छन । जसले स्थानीयको डर झनै बढाइदिएको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।