काठमाडौं । रूपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश गरेको छ ।
न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले थुनामै पठाउने आदेश गरेको हो । सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रूपन्देही कारागारमा रहनु भएका रास्वपा सभापति लामिछानेलाई थुनामुक्त गर्न मागसहित परेको निवेदनमाथिको बहस सोमबार भएको हो ।
सोमबारको पेसी न्यायाधीश नारायणप्रसाद सापकोटाको १० नम्बर इजलासमा परेको थियो । सरकारका तर्फबाट उच्च सरकारी कार्यालयका सहन्यायाधीवक्ता सोमाकान्त भण्डारी, जिल्ला न्यायाधीवक्ता प्रेम पौडेल सहायक जिल्ला न्यायाधीवक्ता हिरालाल भोलन, दामोदर गौतम र लामिछानेकोतर्फबाट नारायण कँडेल, राजेन्द्र थापा र महेन्द्र पाण्डेले बहस गरेका थिए ।
लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा यही साउन १९ गते निवेदन दिनु भएको थियो । उहाँले आफ्नो भागको ठगी रकमको बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रूपैयाँको बैंक जमानत पनि साउन १९ गते निवेदनसँगै दाखिला गर्नुभएको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले पनि सदर गरेको छ। लामिछाने चैत २२ गते नै काठमाण्डौंबाट पक्राउ परेपछि त्यसयता जिल्ला कारागार भैरहवामा हुनुहुन्छ ।