नवलपरासी । किसानले मल नपाईरहेको समयमा कृषि सामग्री कम्पनी लिमिटेड परासीमा आएको मल गोदाममा थन्किएको छ ।
सहकारीमार्फत मल वितरण गर्दै आएकोमा सहकारीले समयमा नै मल नलगेपछि गोदाममा नै मल थन्किएको हो। धान गोड्ने बेला भएकाले किसानलाई मलको आवश्यकता परेपनि सहकारीले मल नलैजाँदा किसानले मल पाउन नसकेका हुन्।
भारतीय सीमासँग जोडिएका पालिकाका केही किसानले भारतीय बजार पुगेर मल ल्याएपनि अधिकांशले मल पाउन सकेका छैनन् । जिल्लामा ७७ वटा सहकारी मार्फत मल वितरण हुँदै आएको छ । तर, अहिलेसम्म ३४ वटा सहकारीले मात्र मल लगेका छन् ।
साउन १९ गते कृषि सामग्री लिमिटेडमा आएको मध्य १ सय ३६ मेट्रिक टन मल गोदाममा रहेको छ । कृषि सामग्री कम्पनीका शाखा परासीका प्रबन्धक ताराप्रसाद खनालका अनुसार पालिकाले सिफारिस गरे अनुसार आफूहरूले मल वितरण गर्दै आएको बताउनुभयो ।
मल आएको एक हप्ता मात्र भएकाले केही सहकारीले मल लगेको र अन्यले पनि प्रकृया अगाडि बढाएको खनालले बताउनुभयो । सोमबार सम्ममा जिल्लाको सुस्ता गाउँपालिकाको १० वटा सहकारी मध्य एक वटा सहकारीले मात्र मल वितरणको लागि लगेको छ।
सुनवल नगरपालिकाको २० मध्य ११ वटा , बर्दघाट नगरपालिकाको ८ मध्य ६ वटा, सरावल गाउँपालिकाको १३ मध्य ८, पाल्हिनन्दन गाउँपालिकाको ४ मध्य २, प्रतापपुर गाउँपालिकाको ८ मध्य २ र रामग्राम नगरपालिकाको १६ वटा मध्य ४ वटा सहकारीले मात्र मल लगेका छन्।
समयमा मल उपलब्ध नहुने र आएपनि पर्याप्त मल नपाउँदा सहकारीले मल वितरण गर्न आनाकानी गर्दै आएका छन् ।