रुपन्देही । शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको लुम्बिनी विकास कोषमा पदाधिकारी र उच्च तहका कर्मचारीको गैरजिम्मेवारी र लापरबाहीले कर्मचारीको आन्दोलन लम्बिदै गएको छ ।
तीन सातादेखि आन्दोलन भइरहँदा महिनौं दिनदेखि बाहिर रहेका पदाधिकारी र उच्च कर्मचारीले बेवास्ता गरेको भन्दै आन्दोलित कर्मचारीले आइतबार र सोमबार मैनबत्ती बालेर पदाधिकारी खोजेका छन् । सांकेतिक विरोधस्वरूप कर्मचारी युनियन अध्यक्ष अब्दुल ओफासहितका पदाधिकारी र कर्मचारीको कोठाकोठा पुगेर पदाधिकारी र उच्च अधिकृतलाई खोजेका हुन् ।
कोषका पदाधिकारी लुम्बिनी नफर्कदासम्म आन्दोलन टुंगिने छाँट देखिएको छैन। समस्या समाधानको पहल नगरेर पदाधिकारी काठमाडौंमा बसेका छन् । यसले कर्मचारीलाई झनै आक्रोशित बनाएको छ ।
तीन सातादेखि कर्मचारीले धर्ना र विरोध कार्यक्रम गर्दै आए पनि पदाधिकारीले चासो नदिँदा कर्मचारी उत्तेजित बन्दै गएपछि शान्तिको उद्गमथलो लुम्बिनी अस्तव्यस्त बनेको छ । साउन ८ बाट विरोधका कार्यक्रम थालेका कर्मचारीले १३ गतेदेखि लुम्बिनी विकास कोष प्रधान कार्यालयमा तालाबन्दी गरेर पूरै कामकाज ठप्प गरेका छन् ।
कोषका उपाध्यक्ष ल्याहारक्याल लामा, सदस्य सचिव सानुराजा शाक्य, कोषाध्यक्ष ढुण्डिराज भट्टराई र योजना प्रबन्धक स्मिता भट्ट सबै काठमाडौंमा हुनुहुन्छ । कोषाध्यक्ष भट्टराई उपचारमा हुनुहुन्छ भने सदस्य सचिव शाक्यले साउन ५ गते दिएको राजीनामा स्वीकृत भएको छैन ।
कर्मचारी युनियनले सञ्चित बिदा, कोष भत्ता र महंगी भत्ता पाउनु पर्ने, ०७९ कर्मचारी विनियमावली संशोधन गरेर उमेर हद लागू नहुने गरी सीमित प्रतियोगितात्मक परीक्षाबाट सेवा करारमा रहेका सबै कर्मचारीलाई पदपूर्ति गर्नुपर्ने माग गरेका छन् । त्यस्तै, दरबन्दी चाडै स्वीकृत गराई सबै कर्मचारीलाई स्थायी गरिनुपर्ने र कोष कर्मचारी विनियमावली ०७९ अनुसार स्थायी कर्मचारीलाई पद बढुवा गर्नुपर्ने माग राखेका छन् ।
माग सुनवाइ नभएको भन्दै कोष प्रधान कार्यालयमा तालाबन्दी गरेका कर्मचारीले अब एक/दुई दिनमा कोष गुरूयोजनाभित्र प्रवेश गर्ने द्वार, मायादेवी मन्दिर प्रवेश टिकट काउण्टर र संग्रहालयमा तालाबन्दी गरेर ठप्प बनाउने निर्णय गरेको युनियनका पदाधिकारीहरू बताउँछन् ।
कोषका सबै कर्मचारी प्रधान कार्यालयको मुख्य गेट छेउमा आँपको रूखमुनि दिनभरि बसेर कामकाज ठप्प बनाएका छन् । कर्मचारी आन्दोलित भई कामकाज ठप्प भएर नकारात्मक सन्देश जाँदा समेत संवादको पहल नगरेर खेलबाड गरिरहेकाले आफूहरूलाई अझ कडा आन्दोलन गर्न बाध्य बनाइरहेको कर्मचारीहरू बताउँछन् । कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेलेसमेत कुनै चासो नलिएको भन्दै कर्मचारीहरू निराश छन् ।
लुम्बिनी मुलुकको सबैभन्दा बढी भ्रमण गर्ने गन्तव्य हो । यहाँ बर्सेनी करिब दुई लाख विदेशी, त्यो भन्दा बढी भारतीय र १६ लाखभन्दा बढी नेपाली आउँछन् । कर्मचारी आन्दोलनको समाधानका लागि पर्यटन मन्त्रालयमा छलफल भइरहेको कोष उपाध्यक्ष ल्याहारक्याल लामाले दोहोर्याइरहे पनि तीन सातासम्म समस्या उस्तै छ ।
प्रशासनिक कामकाज ठप्प गरेर आन्दोलन गर्दा कार्यालयलाई धेरै नकारात्मक प्रभाव परिरहेको छ । चालु आर्थिक वर्षको आन्तरिक र सरकारले दिने बजेटको वार्षिक नीति, योजना कार्यक्रम बनाउन ढिलो भइरहेको छ ।
त्यस्तै, करोडौंको काठ लिलामीको प्रक्रिया अघि बढाउन नसक्दा पानीमा सडिरहेको र अन्य विकासे काम गर्न टेन्डर गर्न ढिलो भइरहेको कर्मचारीहरू बताउँछन् । त्यस्तै, गत आर्थिक वर्षमा सम्पन्न बुद्ध जयन्तीको खर्च भुक्तानी दिन रोकिदा विभिन्न आपूर्तिकर्ता र व्यवसायीको कोषप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुँदै जाँदा समस्या चुलिँदै गएको छ ।