पाल्पा । पाल्पाको रम्भा गाउँपालिका-४ हुमिनको लोरेङ गाउँका डेमानसिंह घर्तीको परिवार यतिबेला खुसीसाथ जीवनयापन गरिरहेको छ ।
डेमानसिंह वैदेशिक रोजगारीमा हुनुहुन्छ भने उहाँकी श्रीमती विष्णुकुमारी घरमै मिहिनेत गरिरहनुभएको छ । वैदेशिक रोजगारमा गएका श्रीमानले पठाएको रेमिट्यान्सको सदुपयोग कसरी गर्न सकिन्छ भन्ने उदाहरण विष्णुकुमारीले प्रस्तुत गर्नुभएको छ ।
पाल्पाको रम्भा गाउँपालिका-४, हुमिन लोरेङकी विष्णुकुमारी घर्तीमगरले सफल पशुपालकको परिचय बनाउनुभएको छ । उहाँको खोरमा यतिबेला १० वटा माउ र एउटा भाले बंगुर छ । बंगुरसँगै बाख्रापालन गरेर उहाँले राम्रो आम्दानी गरिहनुभएको छ ।
बंगुरका पाठापाठी बिक्री गरेर १० महिनामै झन्डै १० लाख लाख आम्दानी गर्नुभयो भने खसीबोका बिक्री गरेर १ लाख १५ हजार रूपैयाँ कमाइ भयो ।
विष्णुकुमारीको माइतीघर गाउँकै माथिल्लो टोल हो । डेमानसिंहसँग बिहे हुँदा घरको आर्थिक अवस्था नाजुक थियो । जीविकोपार्जन गर्ने सकस भएकाले बाध्यतावश उहाँले श्रीमानलाई विदेश पठाउनुभयो ।
विष्णुकुमारीलाई काम गर्ने मन भए पनि लगानी गर्न हातमा नगद थिएन । त्यसैबेला निर्धन उत्थान लघुवित्तको समूहमा आबद्ध हुनुभयो । त्यहाँबाट विनाधितो कर्जा पाएपछि व्यवसाय सुरू गर्नुभयो । विष्णुकुमारीको व्यवसायिक यात्रामा श्रीमानको भरपुर साथ र सहयोग छ ।
विष्णुकुमारीका श्रीमान् डेमानसिंह ओमानस्थित लुलु मार्केटमा काम गरेर मासिक ५० हजारजति बचत पठाउनुहुन्छ । यता विष्णुकुमारीको पशुपालन राम्ररी सपि्रएकाले विदेशको कमाइ पूरै बचत हुन्छ ।
विष्णुकुमारीको कमाइले दुईजना छोरीको लालनपालन, पढाइ खर्च मात्रै नभई घरखर्चसमेत पुगेको छ । छोरीहरूलाई सुविधासम्पन्न कलेजमा एचए, स्टाफनर्स पढाउनुभएको छ ।
चाहिएका बेला दुई चार हजारसमेत ऋण पाउन मुस्किल विगतको संघर्ष र अभावका दिन विष्णुकुमारी बिर्सनुभएको छैन । अहिले अप्ठेरोमा अरूलाई सघाउनसक्ने हुनुभएको छ। एउटा माउबाट सुरू गरेको बंगुरपालन अहिले व्यावसायिक बनेको छ ।
घरमा ९० वर्षको ससुराको हेरविचार गर्दै व्यवसाय सम्हाल्न त्यति सजिलो छैन । तर श्रीमान विदेश जाँदाको ऋण तिर्ने, छोरी पढाउने काममा बंगुर र बाख्रापालन सहयोगी मात्रै बनेन रेमिट्यान्सबाहेक आम्दानीको अर्को मुख्य स्रोत बन्यो ।
दुवैजनाको कमाइ बचत गरेर उहाँले पाल्पाको माडी खहरेका साथै बुटवल र भैरहवामा गरी तीनवटा घडेरी जोड्नुभएको छ ।