काठमाडौं । संस्थापक रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको टकरावले नागरिक उन्मुक्ति पार्टी विभाजनसम्मको स्थितिमा पुगेको छ।
२०८० पुसको महाधिवेशनबाट सर्वसम्मत हुनुभएका रेशमलाई निर्वाचन आयोगले वैधानिकता नदिएपछि चौधरी दम्पत्तिबीचको सम्बन्ध चिसिएको थियो । हालै जग्गा हिनामिना प्रकरणमा अध्यक्ष रन्जिताले बैठक बोलाउन अस्वीकार गरेपछि र रेशम पक्षले रन्जितालाई अध्यक्षबाट बर्खास्त गरेपछि विवाद झन् चर्किएको छ, जुन विवाद अहिले निर्वाचन आयोगमा पुगेको छ ।
संस्थापक रेशम चौधरी र उहाँकी पत्नी रञ्जिता श्रेष्ठबीचको शक्ति संघर्ष र टकरावले अहिले नागरिक उन्मुक्ति पार्टीलाई लथालिंग अवस्थामा पुर्याएको छ । आन्तरिक मतभेद चुलिँदै जाँदा रेशम चौधरी पक्षले राष्ट्रिय भेला बोलाएर रञ्जितालाई अध्यक्षबाट बर्खास्त र साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
रेशम पक्षले अध्यक्षमा लालविर चौधरीलाई चयन गर्दै अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाएको छ । यता रञ्जिताले समेत राष्ट्रिय भेला अवैधानिक भएको र आफू नै अध्यक्ष रहेको आयोगलाई जानकारी गराउनु भएको छ, जसलाई अहिले आयोगले अध्ययन गरिरहेको छ ।
तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँगै पोखराको लिचिबारी जग्गा हिनामिना प्रकरणमा मुछिएपछि श्रेष्ठले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक दिनुभयो । तर त्यसपछि केन्द्रीय समिति बैठक बोलाउन गरिएको आग्रहलाई बेवास्ता गरेपछि रेशम पक्षले राष्ट्रिय भेला बोलाएर कारबाही गरेको थियो ।
अध्यक्षमा को आधिकारिक भन्ने विवाद जारी रहेकै अवस्थामा संघीय सरकारको पर्यटन राज्यमन्त्रीबाट १ महिना अगाडि राजीनामा दिनुभएका अरूण चौधरी राजीनामा स्वीकृत भएको छैन ।
नाउपामा विवादको बिजारोपण भने २०८० पुसको कैलाली महाधिवेशनबाट भएको थियो । महाधिवेशनबाट रेशम सर्वसम्मत अध्यक्ष बने पनि निर्वाचित कमिटीलाई निर्वाचन आयोगले मान्यता दिएन ।
त्यसपछि संरक्षकमा सीमित हुनुभएका रेशम र अध्यक्ष रञ्जिताबीच अहिले टकरावकै स्थितिमा पुगेका हुन् । पार्टी नेताहरू भने पारिवारिक झगडाका कारण पार्टी नै विभाजन नै हुन सक्ने जोखिम रहेको बताउन थालेका छन् ।
संघमा ४ र प्रदेश सभाहरूमा १२ सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद प्रदेश सभामा पनि देखिँदै आएको छ । खासगरी ७ सदस्य रहेको सुदूरपश्चिममा सरकारमा सहभागितालाई लिएर पटक-पटक रेशम र रञ्जिताबीच टकरावको स्थिति देखिने गरेको छ, जसले गर्दा पार्टीको भविष्य नै जोखिममा पुर्याएको छ ।