सर्वसम्मति नजुट्दा जसपा सप्तरीमा निर्वाचन, अध्यक्षमा केदार र उमेशबीच प्रतिष्पर्धा

श्रावण १७, २०८२ |आरएन विश्वास
सर्वसम्मति नजुट्दा जसपा सप्तरीमा निर्वाचन, अध्यक्षमा केदार र उमेशबीच प्रतिष्पर्धा

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको प्रथम एकता अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनमा असफल भएपछि अन्ततः निर्वाचनमार्फत नयाँ जिल्ला समिति चयन गरिने भएको छ ।

निर्वाचन समितिका अनुसार जिल्ला अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष केदार यादव र निवर्तमान उपाध्यक्ष एवं विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशकुमार यादवबीच प्रतिष्पर्धा हुने भएको हो । लोकतान्त्रिक अभ्यासस्वरूप अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न नेताहरूले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।

निवर्तमान अध्यक्ष केदारको प्यानलबाट उपाध्यक्षमा लक्ष्मण यादव र उषा साह, सचिवमा शम्भुकुमार यादव, उपसचिवमा रिता कुमारी चौधरी र रामेश्वर कौडगिया र कोषाध्यक्ष अमरेन्द्रकुमार यादव (अर्विन)काे उम्मेदवारी दर्ता भएको छ ।

यस्तै निवर्तमान उपाध्यक्ष उमेशकाे प्यानलबाट उपाध्यक्षमा हरेराम यादव र राजेश्वर राय, सचिवमा निरज मुक्ति, उपसचिवमा दाउद हुसैन र राहुल मण्डल र कोषाध्यक्षमा अभिनभ यादव(निकु)काे उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समिति अनुसार ७ पदाधिकारीसहित २५ भौगोलिक र २५ समावेशी गरी ५० सदस्यीय जिल्ला समिति चयनका लागि आईतवार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुनेछ । निर्वाचनमा विभिन्न पालिका र भातृसंगठनसम्बद्ध गरी जम्मा ५१५ जना प्रतिनिधिहरूले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।