इलामबाट झापा झर्ने वैकल्पिक सडकले स्थानीयलाई सुविधा, आधा छोटो पर्ने सडक कालोपत्रे हुनुपर्ने माग

श्रावण १६, २०८२ |विप्लव भट्टराई
इलामबाट झापा झर्ने वैकल्पिक सडकले स्थानीयलाई सुविधा, आधा छोटो पर्ने सडक कालोपत्रे हुनुपर्ने माग

इलाम । मेची राजमार्गको तीनघरेबाट शान्तिपुर हुँदै झापा झर्ने सडक सुधार हुँदै गएकाले स्थानीयलाई सहज भएको छ । 

मेची राजमार्ग फन्को मार्नुभन्दा आधा छोटो दूरीमा झापा झर्न सकिने भएकाले सूर्योदय नगरपालिकाको जहरसिंह गाउँसहित रोङ गाउँपालिकाको १ र २ नम्बर वडाका नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको हो ।

तीनघरेबाट झापाको शनिश्चरे पुग्न करिब ३१ किलोमिटर दूरी पार गरे पुग्छ तर मेचीराजमार्ग भएर झापा जाँदा फेरो पर्ने हुनाले दूरी लामो छ । त्यसैले स्थानीयले तीनघरेबाट शान्तिपुर हुँदै झापा झर्ने सडक कालोपत्रे गर्नुपर्ने माग गर्दैआएका छन् । 

मेची राजमार्गभन्दा आधा छोटो पर्ने र तीनघरेभन्दा तलका गाउँका बासिन्दालाई त मूख्य आवतजावतको सडक नै यही रहेको छ । सडकको कतिपय स्थानमा स्तरोन्नतीको काम भइरहे पनि पर्याप्त नभएको स्थानीय बताउँछन् । आउजाउसँगै कृषिउपजका बिक्री र उपभोग्य सामग्री ल्याउन प्रयोगमा आएको यो सडक मेची राजमार्गको विकल्पकोरूपमा पनि लिने गरिएको छ ।

तीनघरेबाट रोङ-१ को वडा कार्यालयसम्म एउटै बाटो गएको छ । त्यहाँबाट एउटा सडक बदमटार, बरफल्याङ हुँदै मदनभण्डारी राजमार्गमा मिसिन्छ । अर्को सडक नेहित, बरभञ्ज्याङ, साधुटारहुँदै मदनभण्डारी राजमार्गमा नै जोडिन्छ । 

दुवै सडक स्थानीयका लागि उत्तिकै आवश्यक भएकाले सोहीअनुरूप काम अघि बढाउने पहल पालिकाको छ । बदमटारतर्फको सडकमा गोयुङ खोलामा पुलको आवश्यकता छ । संघ प्रदेश र पालिकाको विभिन्न शीर्षकमार्फत सडक निर्माण भइरहे पनि अपेक्षाकृत ढंगले काम अघि नबढ्दा यो सडक कहिले कालोपत्रे भइसक्ने भन्ने अन्योल स्थानीयमा छ ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।