जनकपुर । बहुगुणी अन्न कोदोको प्रवर्द्धन गर्न भन्दै सरकारको आह्वानमा शुक्रबार प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको छ।
मल कम लाग्ने र सिँचाइ पनि धेरै नचाहिने कोदोको खेती मधेश प्रदेशको धनुषा जिल्लामा पनि बढ्दो छ । खडेरीलगायतका प्रकोपसँग जुधिरहेका धनुषाको भारतीय सिमावर्ती क्षेत्रका किसान स्वास्थ्यका लागि कोदो निकै फाइदाजनक रहेको भन्दै कोदो खेतीमा लागेका छन् । तर धनुषास्थित कृषि ज्ञान केन्द्र र प्रदेशको कृषि निर्देशनालयसँग तराई क्षेत्रमा हुने कोदो खेतीको न तथ्याङ्क छ न त प्रवर्द्धनका लागि कुनै नीति नै ।
भारतीय सीमानासँग जोडिएको यो धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका हो । त्यहाँका किसानहरूले कोदो खेती विस्तार गरिरहेका छन् । एक दशक अघिसम्म सीमित किसानले मात्रै लगाउने कोदो अहिले सबैका खेतखेतमा देख्न सकिन्छ ।
मल कम लाग्ने र सिँचाइ पनि थोरै भए पुग्ने बहुगुणी कोदोको महत्व बुझेपछि त्यहाँका हरेक किसानले कम्तीमा २ देखि १० कठ्ठा जग्गामा यो बाली लगाउन थालेका छन् । कोदोको रोटी, ढिँडो, केक, पेय पदार्थका साथै विभिन्न मिष्ठान्न बनाउन प्रयोग गरिन्छ ।
कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, आइरन, म्याग्नेसियम, फास्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्व पाइन्छ । क्याल्सियम र आइरनले हाड बलियो बनाउने र रगतको कमीले हुने रोग लाग्नबाट बचाउँछ । कोदो मुटुका रोगी, गर्भवती र बालकदेखि वृद्धसम्मको लागि निक्कै उपयोगी मानिन्छ ।
पछिल्लो समय कोदोको ढिंडो, मःमलगायतका परिकार शहरका ठूला होटलमा लोकप्रिय भएसँगै कोदोको माग पनि निकै बढेको छ । बजारमा कोदोको माग बढेसँगै प्रतिकिलो ४० देखि ५० रुपैयाँसम्ममा खरिद गर्न व्यापारीहरू गाउँमै आउन थालेपिछि किसानलाई सहज भएको छ ।
तर सरकारले कोदो प्रवर्द्धन गर्नभन्दै दिवस नै मनाइ रहँदा मधेश प्रदेशको कृषि निर्देशनालय र धनुषाको कृषि ज्ञान केन्द्रसँग तराई क्षेत्रमा कति क्षेत्रफलमा कोदो कति खेती हुन्छ ? उत्पादन कति छ ? भन्ने आधारभूत तथ्याङ्क नै छैन ।
यस्तो अवस्थामा तराईमधेशमा कोदो खेती गर्ने किसानलाई थप सहजीकरण गर्न के गर्नसकिन्छ भन्ने नीतिको अपेक्षा गर्ने ठाउँ नै छैन । त्यसैको परिणाम हो कोदो र कोदोजन्य परिकारको माग बढे पनि सरकारले यसको उत्पादन बढाउन नसक्नु ।
कृषि मन्त्रालयका अनुसार २०७८/७९ मा २ लाख ६७ हजार ७१ हेक्टरमा ३ लाख ३९ हजार ४ सय ३२ टन, २०७९/८० मा सो क्रम घटेर २ लाख २७ हजार ९ सय ३४ हेक्टरमा ३ लाख १० हजार ८ सय ४७ टनमा झरेको थियो ।
कृषि मन्त्रालयका अनुसार ७७ जिल्लामै उत्पादन गर्न सकिने कोदोको खेती ६० मिटरदेखि ३ हजार ६ सय ५० मिटर उचाइसम्म हुन्छ। उत्पादनको हिसाबले सबैभन्दा बढी सम्भावना कर्णालीमा रहेको छ ।