विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेता झलनाथ खनाललाई पार्टीबाट बिदा लिन सुझाव दिनुभएको छ । संस्थागत निर्णय नमान्नेले पार्टीबाट बिदा लिँदा हुने उहाँको भनाइ छ ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले नेता खनालले पटक-पटक पार्टीको निर्देशन अवज्ञा गरेको आरोप लगाउनुभयो । नेता खनालले केही दिन अघि एमाले टुक्र्याउनु गलत भएको भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।
खनालको यो अभिव्यक्तिप्रति आक्रोसित अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टीबाट बिदा लिन सुझाव दिनुभएको हो । अभिव्यक्ति सही भए कारबाही गर्ने चेतावनी पनि उहाँले दिनुभयो ।
अर्को एक प्रसंगमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट नहटाएसम्म देश अग्रगमनमा जान नसक्ने दाबी गर्नुभयो । उहाँले नेकपा माओवादी केन्द्रसँग तालमेल गरेर अगाडि बढ्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
समाजवादी मोर्चालाई निरन्तरता दिने विषयमा आफू लागेको उहाँको भनाइ थियो । अध्यक्ष नेपालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन संविधानले नरोकेको पनि बताउनुभयो ।