रामेछाप सडक निर्माणको लापरबाहीले १५ घर पहिरोको जोखिममा

श्रावण १६, २०८२ |नवराज श्रेष्ठ
रामेछाप सडक निर्माणको लापरबाहीले १५ घर पहिरोको जोखिममा

रामेछाप । रामेछापको हलेदे-धोबी-सिरिसे-ढाडे सडक खण्डअन्तर्गत लिखुतामाकोशी गाउँपालिका-७ तिल्पुङ क्षेत्रमा कालोपत्रे गरिएको सडक एक महिनामै उप्किन थालेको छ । 

१२ करोड ६५ लाख ५४ हजार रूपैयाँ लागतमा निर्माण गरिएको सडकमा अहिले पहिरो, भत्किएको वाल र टालटुल कामको कारण जनजीवन जोखिममा परेको छ।

उक्त सडक आयोजनाबारे पटक-पटक सरोकारवालालाई ध्यानाकर्षण गराइए पनि पूर्वाधार विकास कार्यालयले सुनुवाइ नगरेको स्थानीयको गुनासो छ। यो सडकको ठाउँ-ठाउँमा कालोपत्रे उप्किएको र भित्तामा लगाइएको सेर तथा मेसिनरी वालसमेत भत्किएको लिखुतामाकोशी गाउँपालिका-७ की स्थानीय मेनुका आले मगरले बताउनुभयो । 

यो सडक निर्माणका क्रमममा सयौँ ठाउँमा उप्किएको कालोपत्रे टालटुल पारेर योजना पास गरिएकाले अहिलेको अवस्था आएको उहाँको भनाइ छ । सडक विस्तारका क्रममा भित्ता संरक्षणको आवश्यक ध्यान नदिई गरिएको कटिङले पहिरो निम्त्याएको गाउँपालिका अध्यक्ष केशव महतले बताउनुभयो । 

स्थानीय सरकारलाई तगारोको रूपमा हेर्ने प्रवृत्तिका कारण आवाज उठाउँदा पनि नसुनेको र अहिले ढ्याङ्ग्रेमै मात्र १५ घर परिवार पहिरोको जोखिममा रहेको उहाँले बताउनुभयो । अध्यक्ष महतका अनुसार, दैनिक रूपमा पहिरो पन्छाउन गाउँपालिकाले डोजर परिचालन गर्नुपर्दा आर्थिक भार थपिएको छ। 

सडक निर्माणमा गर्दा गरिएको लापरबाहीले लगातार पहिरोले गइरहेकाले सवारी आवागमन र सर्वसाधारणलाई यात्रामा जोखिम भएको उहाँले बताउनुभयो । पहिरो नियन्त्रणको लागि न निर्माण व्यवसायी र पूर्वाधार कार्यालयले कुनै चासो नदिएको उहाँको गुनासो छ । 

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले पहिरोले केही बारी बगाए पनि बस्ती ४ सय मिटर टाढा रहेकाले तत्काल ठूलो जोखिम नरहेको बताउनुभयो । उहाँका अनुसार फिल्डमा रहेको टोलीले पहिरो नियन्त्रणका लागि पानीको बहाव कटाउने जस्ता कामहरू गरिरहेको छ। 

बागमती प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय रामेछाप मार्फत श्री गौरीशङ्कर-रूपाकाली जेभीले ४.२ किलोमिटर सडक कालोपत्रे गरेको थियो। निर्माण कम्पनीले २०८० असार १८ गतेबाट काम थालेको भए पनि २०८२ असारभित्र सकिएको योजना गुणस्तरहीन भएको स्थानीयको गुनासो छ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।


सम्बन्धित