विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन 'प्रभावमा आधारित विपद् पूर्वकार्य कार्यढाँचा’ बनाउन सुरू

श्रावण १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन 'प्रभावमा आधारित विपद् पूर्वकार्य कार्यढाँचा’ बनाउन सुरू

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन 'प्रभावमा आधारित विपद् पूर्वकार्य कार्यढाँचा’ बनाउन सुरू गरेको छ ।

प्राधिकरणले विपद् व्यवस्थापनमा काम गरिरहेका संघसंस्था समेतको सहभागितामा कार्यढाँचा बनाउन थालेको हो । विपद् पूर्वकार्यढाँचा निर्माणसम्बन्धी कार्यशालाको आज उद्घाटन गर्दै प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले सरोकारवालाहरुको सुझावसहित आएको ‘पूर्वकार्य कार्याढाँचा’ माथि थप छलफल गरेर अन्तिम रूप दिने जानकारी दिनुभयो ।

अहिले पनि स्थानीय सरकार र सरोकारवालाहरूले विपद्को पूर्वसूचना आउनेवित्तिकै माइकिङ गरेर सर्वसाधारणलाई जानकारी गराउने, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने लगायत काम गरिरहेका छन् । तर स्पष्ट कार्यढाँचा नभएकाले विपद् पूर्वकार्य प्रभावकारी बन्न नसकेको अवस्थामा प्राधिकरणले साझा कार्यढाँचा बनाउन लागेको हो ।

तीन दिनसम्म विभिन्न ९ वटा मोडलमाथि छलफल गरी आवश्यकताका आधारमा कार्यहरूलाई थपघट गरी नेपालका लागि उपयुक्त कार्यढाँचा बनाइने प्राधिकरणले जनाएको छ । विभिन्न विपद्बाट हुने मानवीय क्षति र भौतिक क्षति न्युनीकरण गर्ने उद्देश्यका साथ विपद् पूर्वानुमान पछिको पूर्वतयारीको कार्यढाँचा बनाउन लागिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.