सामाजिक सञ्जाल बन्द गर्ने निर्णय : कहाँ-कहाँ पर्छ असर ?

भाद्र १९, २०८२ |विकास आचार्य
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय : कहाँ-कहाँ पर्छ असर ?

काठमाडौं । सरकारले तोकिएको समयसीमा भित्र फेसबुक, एक्स, युट्युब लगायतका सामाजिक सञ्जालका प्लेटफर्महरु सूचीकरण हुन नआएको भन्दै बन्द गर्ने निर्णय गरेको छ । त्यसो त सामाजिक सञ्जालहरुमा मानिसको लत नै बसिसकेको छ । त्यतिमात्र होइन, सानादेखि ठूला व्यवसाय गर्नेदेखि व्यवसायको ब्राण्डिङ नै पनि सामाजिक सञ्जालहरुमार्फत् हुने गरेको छ । सरकारको यस्तो निर्णयले तत्काल कहाँ कहाँ असर गर्छ त ? 

१. आफन्तसँगको सम्पर्क टुट्छ

आम मानिसको जीवन शैली बनिसकेको छ सामाजिक सञ्जाल । लाखौं मानिसले विदेशबाट आफ्ना परिवारसँगको गफ गर्ने माध्यम हो– सामाजिक सञ्जालका प्लेटफर्महरू । फेसबुक, म्यासेन्जर, ह्वाट्सएप र इमो जस्ता प्लेटफर्महरू बन्द हुँदा यसको असर विदेशमा भएका आफन्तहरुसँगको सम्पर्क टुट्न सक्छ ।

२. साइबर चुनौती

सामाजिक सञ्जाल बन्द भएपछि भीपीएन प्रयोग गरेर ती प्लेटफर्महरू चलाउने संख्या बढ्न सक्छ । भीपीएन अवैध हो । यसरी भीपीएन प्रयोग भए साइबर सुरक्षाको जोखिम बढ्छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारले टिकटक बन्द गर्दा प्राय प्रयोगकर्ताले भीपीएन प्रयोग गरेर चलाएका थिए । भीपीयन प्रयोगको मुख्य डर हो- एकाउन्ट ह्याक र डेटा असुरक्षा ।

३. सामग्रीको पहुँच र सम्पर्कमा असर

पछिल्लो समय नागरिकले सूचना, समाचारलगायतका सामाग्रीहरु सामाजिक सञ्जालका प्लेटफर्महरुबाट पनि प्राप्त गर्ने गरेका थिए । ठूलो हिस्सा यी प्लेटफर्महरु व्यस्त थिए । धेरैले रोजगारी पाउनुका साथसाथै मिडियाहरुले पनि आफ्ना सामग्री यिनै प्ल्याटफर्महरुका माध्यमबाट जनतामाझ पुर्याइरहेका थिए । अब यी प्लेटफर्महरु बन्द हुँदा न्यू मिडियाको सम्भावनामा असर पर्न सक्छ ।

४. साना ठूला व्यवसाय र स्टार्टअपमा असर

सामाजिक सञ्जाल मार्फत साना, मझौला देखि ठूलो व्यवसायीले आफ्नो व्यवासय सञ्चालन र विज्ञापन गरिरहेका थिए । मार्केटिङको ठूलो प्लाटफर्म बनिसकेको सामाजिक सञ्जालहरु बन्द स्टार्टअप व्यावसायमा समेत असर गर्ने पर्छ ।

५. अभिव्यक्ति स्वतन्त्रतामा अंकुस

सरकारको राम्रो कामको वाह-वाई र नराम्रो कामको खबरदारी र विरोध सँगै आफूलाई मनमा लागेका कुरा व्यक्त गर्ने प्रमुख माध्यम हो– सामाजिक सञ्जाल । अब सामाजिक सञ्जाल बन्द हुँदा यसले अभिव्यक्ति स्वतन्त्रतामा पनि संकुचन ल्याउन सक्छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।