काठमाडौं । जर्मनीले, फिफा विश्वकप छनोटको आफ्नो पहिलो खेलमा नै हार बेहोरेको छ । युरोपियन छनोटमा स्लोभाकियाले, पूर्वच्याम्पियनलाई दुइ-शून्य गोलले स्तब्ध पारेको हो ।
गएराति भएको समूह ए को खेलमा घरेलु टिमले सातौं मिनेटमा नै गोलको अवसर सिर्जना गरेको थियो । लियो सावको प्रहार जर्मन गोलकिपर ओलभिर बअमनले बचाए । २४ औं मिनेटमा जर्मनीका म्याक्सीमिलियन मिचलस्टाडले गरेको प्रहारलाई पनि विपक्षी गोलकिपर मार्टिनले सफल हुन दिएनन् । ३२ औं मिनेटमा फ्लोरियन भिट्सको प्रहार पनि मार्टिनको हातमा पुग्दा पाहुना टिम निराश बनेको थियो । ४२ औं मिनेटमा स्लोभाकियाले डेडलक तोड्यो ।
डाविड स्ट्रेलेसको क्रसमा डाविड हेन्कोले उत्कृष्ट फिनिस गरेपछि जर्मनी एक-शून्य गोलले पछि परेको थियो । ४८ औं मिनेटमा लियोन गोरेट्ज्काले बराबरी गोल गर्ने मौका पाए पनि गोलकिपर मार्टिनले सफल हुन दिएनन् । ५५ औं मिनेटमा स्ट्रेलेसको शानदार गोलसँगै स्लोभाकियाले जर्मनी माथि दुई-शून्य गोलको सनसनीपूर्ण जीत हात पार्यो । स्लोभाकियाले, प्रतिस्पर्धात्मक खेलमा जर्मनीलाई पराजित गरेको यो पहिलो पटक हो । विश्वकप छनोट खेलमा जर्मनीले हार बेहोरेको यो केवल चौथो पटक हो । यसै समूहको अर्को खेलमा नर्दन आयरल्यान्डले दश खेलाडीमा समेटिएको लक्जेमबर्गलाई तीन-एक गोलले हराएको छ ।