काठमाडौं । बेल्जियमले , लिक्टनस्टाइनमाथि ६-शून्य गोलको फराकिलो जीतका साथ फिफा विश्वकप छनोटको आफ्नो यात्रा सुरु गरेको छ ।
समूह जे मा रहेको बेल्जियमका लागि गएराति भएको खेलमा २९ औं मिनेटमा म्याक्सिम डि काइपरले गोल गर्दै ब्रेक थ्रु दिलाएका थिए । दोस्रो हाफमा उत्कृष्ट देखिएको बेल्जियमले पाँच गोल थप्यो । ४६ औं मिनेटमा कप्तान युरी टिलमन्सले अग्रता दोब्बर बनाए । घरेलु टिमविरुद्ध गोलको वर्षा गरेको बेल्जियमले ६० औं मिनेटमा दुरी तीन-शून्यमा पुर्यायो । यो पटक अर्थर थियटले गोल गरेका हुन् । ६२ औं मिनेटमा केभिन डि ब्रुयनाले गोल थपे । ७० औं मिनेटमा टिलमन्सले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गरेका थिए ।
इन्जुरी समयमा मालिक फोफानाको गोलसँगै बेल्जियमले विशाल अन्तरको नतिजा आफ्नो पक्षमा पारेको हो । यसै समूहमा रहेको वेल्सले काजख्स्तानलाई एक-शून्य गोलले पराजित गरेको छ । वेल्सका लागि २४ औं मिनेटमा केइफर मोरले गरेको गोल निर्णायक बन्यो । काजख्स्तानले गोल अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेन् ।