काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाअन्तर्गत तेमाल गाउँपालिका-१ अमलटारीका ३५ वर्षीय गगन बहादुर भण्डारी (मेछेली) झिकुखोलाले बगाएर बेपत्ता भएका छन्।
श्रावण ९ गते, शुक्रबार राति करिब ८:४५ बजेको समयमा भण्डारी खेतमा पानी हाल्न गएका बेला झिकुखोला तर्न खोज्दा एक्कासी खोला पार गर्ने क्रममा बगाएर बेपत्ता भएका हुन्। लगातारको वर्षाका कारण खोला बढेको अवस्थामा थियो।
घटनापछि स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा तत्कालै खोजी कार्य सुरू गरिएको थियो। यद्यपि, खोला नजिकै सुनकोसी नदी मिसिने स्थान भएकाले बेपत्ता व्यक्तिको खोजीमा थप चुनौती देखिएको छ। स्थानीयवासीकाअनुसार झिकुखोला पाँचखाल नगरपालिका हुँदै सुनकोसीमा मिसिने भएकाले खोजी कार्यमा नदीको गहिराइ र बहावको वेगले समस्या उत्पन्न गरेको छ।
शनिबार बिहानैदेखि समेत सुरक्षाकर्मी, स्थानीयवासी तथा आफन्तजनले समन्वयमा खोजी कार्य तीव्र रूपमा अगाडि बढाएका छन्। बेपत्ता भएका भण्डारी पछिल्लो समय कृषि पेसामा सक्रिय थिए।
परिवारका सदस्यहरू घटनाले स्तब्ध भएका छन् भने स्थानीयबासीले जोखिमपूर्ण मौसममा नदी र खोलाको किनारमा नजान सबैलाई आग्रह गरेका छन्। यसअघि नै जिल्ला प्रशासन कार्यालय काभ्रेले लगातारको वर्षाका कारण खोलानाला र नदी आसपास सर्तक रहन सर्वसाधारणलाई अनुरोध गर्दै आएको थियो।
झिकुखोला क्षेत्र आसपास खोजी जारी रहेको र आवश्यक उद्धार तथा सुरक्षाकर्मी परिचालन गरेर थप प्रयास भइरहेको जनाइएको छ।