काठमाडौं । पूर्वभूमि व्यवस्थामन्त्री एवम् नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ बयानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुग्नुभएको छ । घुस मोलमोलाइ प्रकरणमा मुछिएपछि श्रेष्ठलाई अख्तियारले बोलाएको हो ।
कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा मुछिएकी पूर्वमन्त्री श्रेष्ठलाई अख्तियारले बयानका लागि बोलाएको हो ।
निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामाबीच भएको घूस ‘डिल’ प्रकरणमाथि आयोगले अनुसन्धान गर्ने क्रममा सांसदसमेत रहेकी श्रेष्ठको पनि संलग्नता देखिएको भन्दै बयानका लागि बोलाइएको हो । अख्तियारले ‘भ्वाइस टेस्ट’ पनि लिँदै छ । घूस प्रकरणमा सार्वजनिक भएको अडियोसँग मेल खान्छ कि खाँदैन भन्ने जाँच गर्नलाई उहाँको ’भ्वाइस टेस्ट’ लिन लागिएको हो ।
मालपोत कार्यालय र भूमि समस्या समाधान आयोग प्रमुखमा अनुकूलका व्यक्तिलाई पदस्थापन गराएर लिची बगानको जग्गा हडप्ने प्रपञ्च रचेको गिरोहका लामाले तत्कालीन संघीय मामिलामन्त्री गुप्तासँग गरेको घूस ‘डिल’ को अडियो केही दिनअघि सार्वजनिक भएको थियो ।
पूर्वमन्त्री गुप्ता र उहाँसँग घुस ‘डिल’ गर्ने लामासँग अख्तियारले हिजो बयान लिएको थियो । दुवै जनाको आवाज पनि परीक्षणका लागि ‘रेकर्ड’ गराइएको अख्तियारले जनाएको छ ।