कुलिङ अफ पिरियड विवादले सत्ता गठबन्धनमा तिक्तता, एमालेले संशोधन फिर्ता नलिए दरार आउन सक्ने कांग्रेसको चेतावनी

संसदीय प्रक्रियामाथि प्रश्न नउठाउन एमालेको आग्रह
श्रावण ६, २०८२ |दीपक आचार्य
कुलिङ अफ पिरियड विवादले सत्ता गठबन्धनमा तिक्तता, एमालेले संशोधन फिर्ता नलिए दरार आउन सक्ने कांग्रेसको चेतावनी

काठमाडौं । संघीय निजामती सेवा विधेयकबाट कर्मचारीको कुलिङ अफ पिरियड हटाउन एमालेले राष्ट्रिय सभामा संशोधन दर्ता गरेपछि सत्ता गठबन्धनभित्र तिक्तता सुरु भएको छ । 

कांग्रेसका नेताहरूले संशोधन फिर्ता नलिए गठबन्धनमै असर पर्न सक्ने चेतावनी दिएका छन् । प्रतिनिधि सभामा जालझेल भएको भनेर समिति नै गठन भएको स्थितिमा एमालेका सांसदहरूले राष्ट्रियसभामा सामूहिक संशोधन प्रस्ताव गरेपछि विवाद सुरू भएको हो । 

कांग्रेसले गठबन्धनको चाहनाअनुसार एमाले चल्न नखोजेको आरोप लगाएको छ । एमालेले भने सार्वभौम सांसद्को अधिकारमाथि कांग्रेसको टिप्पणीलाई अनावश्यक भनेको छ । अरू राजनीतकि दलले समेत एमालेको भूमिकामाथि आशंका व्यक्त गरेका छन् ।

निजामती सेवा विधेयकमा प्रतिनिधिसभाबाट भएको त्रुटि राष्ट्रियसभाले सच्याउने सहमति दलहरुबीच भएको थियो । विधेयकमा जालसाजी भएको विषयमा संसदीय विशेष समितिले छानबिनसमेत गरिरहेको छ । तर त्यही बीचमा राष्ट्रियसभामा एमालेका ५ सांसदले कुलिङ अफ पिरियड नै हटाउनुपर्ने भन्दै संशोधन राखेपछि सत्तारूढ दुई दलबीचको मतभेद सतहमै आएको छ । 

राष्ट्रियसभाले मंगलबार मात्र समितिमा पठाएको विधेयकमाथि एमालेले चलखेल गर्न खोजेको आरोप नेपाली कांग्रेसले लगाएको छ । महामन्त्री विश्वप्रकाश शर्माले त यसैले सत्ता गठबन्धनमा दरार आउन सक्ने चेतावनी नै दिनुभएको छ ।

महामन्त्री शर्माबाहेक कांग्रेसका अन्य नेताहरूले पनि यो विषयलाई गम्भीररूपमा लिएका छन् । उनीहरूले एमाले गठबन्धनको भावनाअनुसार चल्न नसकेको आरोप लगाइरहेका छन् । राष्ट्रियसभामा मंगलबार बोल्ने अरू दलका सांसदहरूले समेत कुलिङ अफ पिरियडमा एमालेले चलखेल गर्न खोजको आरोप लगाएका छन् ।

राष्ट्रियसभातर्फ कांग्रेस र एमाले कै सांसद जोड्दा पनि सत्ता गठबन्धन अल्पमतमा छ । यस्तो परिस्थितिमा यी दुई दलका वीचमा नै फरक-फरक धारणा बन्दा त्यो विधेयक रोक्ने अवस्था त आउँदैन भन्ने आंशका देखिएको छ ।

त्यसो त सांसदहरूले संशोधन प्रस्ताव दर्ता गरेकै आधारमा प्रश्न उठाउन मिल्दैन । तर पनि यति धेरै चर्चा र विवाद भएको विषयमा एमालेले एकतर्फी अगाडि बढ्न खोजेको भन्दै गठबन्धन दल कांग्रेसले आंशका गरेको छ । तर एमालेले भने संसदीय प्रक्रियामाथि प्रश्न उठाउनु अर्थपूर्ण नभएको बताउँछ ।

राज्यव्यवस्था समितिमै चलखेल भएको भनेर छानबिन समिति गठन भएको अवस्थामा एमाले फरक तरीकाले आगडि बढ्न खोजेको कांग्रेसको आंशका हो । एमाले सुरुदेखि नै यसको विपक्षीमा रहेका कारण पनि कांग्रेसले गरेको आशंकामा बल पुगेको हो ।


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।