नागरिकलाई स्थानीय तहमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान पहिलो प्राथमिकता : स्वास्थ्यमन्त्री पौडेल

श्रावण ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
नागरिकलाई स्थानीय तहमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान पहिलो प्राथमिकता : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई स्थानीय तहमै गुणस्तरीय, आधारभुत स्वास्थ्य सेवा प्रदान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

स्वास्थ्य मन्त्री बनेको वर्ष दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले  स्थानीय तहमै गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न ५, १० र १५ शैय्याका आधारभुत अस्पतालहरूको निर्माण तथा सञ्चालनलाई तिब्रता दिइएको बताउनु भयो । यसलाई व्यवस्थित गर्न स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ (दोश्रो संशोधन, २०८१)” र “आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८१” जारी गरिएको उहाँको भनाइ छ । 

गत वर्ष ६ अर्ब २२ करोड बजेट निकासा गरिएसँगै ११३ वटा अस्पताल निर्माण सम्पन्न भएका र पहिलो चरणमा ५५ वटा आधारभुत अस्पताल सञ्चालन गर्ने तयारी रहेको बताउनु भयो । नयाँ आर्थिक वर्षमा थप २५० अस्पताल सम्पन्न गर्न ११ अर्ब बजेट सुनिश्चित गरिएको बताउनु भयो । “निरोगी नेपाल” को अवधारणालाई सार्थक बनाउन र नसर्ने रोगहरूको बढ्दो भारलाई न्युनिकरण गर्न हरेक वर्षको फाल्गुण महिनालाई “नसर्ने रोग परीक्षण महिना” का रूपमा मनाउने अभियान शुरु गरिएको बताउनु भयो ।

पाठेघरको मुखको क्यान्सरबाट नेपाली किशोरीहरूलाई जोगाउन राष्ट्रव्यापी रूपमा ह्युमन प्यापिलोमा भाइरस एचपिभी विरुद्धको खोप अभियान सफलतापूर्वक सम्पन्न गरिएको मन्त्री पौडेलले बताउनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.