कास्की । कास्की जिल्ला कारागारमा नाइके नियुक्तिको विषयलाई लिएर उत्पन्न विवादले आइतबार तनाव भएको छ।
ब्लक ‘ए’ का कैदीबन्दीले पुराना नाइके प्रविन गुरूङलाई हटाएर अजय गुरूङलाई नियुक्त गरिएको भन्दै विरोध गरेका हुन्। नयाँ नाइकेको नियुक्ति अस्वीकार गर्दै कैदीबन्दीले कारागारभित्र टायर जलाएका छन् र नाराबाजी गरेका छन्।
घटनापछि कारागार परिसरमा सुरक्षाकर्मीको उपस्थिति कडा बनाइएको छ। कारागारका जेलर राजेन्द्र शर्माले नाइके अर्थात् आन्तरिक चौकीदार नियुक्तिको विषयमा केही कैदीबन्दीले असन्तुष्टि जनाएको स्वीकार गरे। तर स्थिति नियन्त्रणमा रहेको र समाधानका लागि छलफल भइरहेको उहाँले जानकारी दिनुभयाे।
कास्की कारागारमा हाल ब्लक ‘ए’ मा ४६६ जना, ब्लक ‘बी’ मा ४८० जना र महिला ब्लकमा ३५ जना कैदीबन्दी छन्।