विदेशबाट गाँजा ल्याउने समूह पुनः सक्रिय, भारतीयको संलग्नताले प्रहरी समेत चकित

श्रावण ३, २०८२ |रमेश धमला
विदेशबाट गाँजा ल्याउने समूह पुनः सक्रिय, भारतीयको संलग्नताले प्रहरी समेत चकित

काठमाडौं । नेपालमा गाँजा अवैध लागूऔषध हो । तैपनि कतिपय विदेशीले फर्किँदा नेपालबाट गाँजा बोकेर जाने गरेका छन् । यस क्रममा उनीहरू विमानस्थलमा पक्राउ पनि पर्छन् । तर एक वर्ष यता भने विदेशबाट गाँजा ल्याउने समूह पुनः सक्रिय भएको छ । विशेष गरी भारतीय नागरिकले थाइल्यान्डबाट नेपाल हुँदै भारतसम्म गाँजा तस्करी गरेको भेटिएको छ । यो घटनाले प्रहरीलाई समेत झस्काएको छ ।

गत असार २१ गते भारतीय नागरिक बसीर थाइल्यान्डबाट काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परे । बसीरको सुटकेसमा २ किलो गाँजा बरामद भएको थियो । सोही दिन थाई नागरिक मिस श्रविन पनि विमानस्थलमै पक्राउ परिन् । उनको लगेजमा पनि पाँच किलो २ सय ग्राम गाँजा थियो ।

पछिल्लो एक महिनामा मात्रै ८ जना भारतीय र दुई थाई नागरिक थाइल्यान्डबाट गाँजा बोकेर आउने क्रममा पक्राउ परेका छन् । एक वर्ष यता थाइल्यान्डबाट हवाई रूट हुँदै भारतीय र थाई नागरिकले ल्याएको २ सय किलोभन्दा बढी गाँजा विमानस्थलबाट बरामद भइसकेको छ ।

थाइल्यान्डबाट गाँजा ल्याउने १४ जनाविरुद्ध यसअघि नै मुद्दा चलाएको प्रहरीलाई भारतीयको संलग्नताले भने झस्काएको छ । भारतीय नागरिकलाई घुम्न भन्दै सबै खर्च बेहोरेर थाइल्यान्ड पठाइने र गाँजा बोकाएर फर्काइने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । एकै जना चार पटकसम्म तस्करीमा संलग्न रहेको खुलेको छ ।

विभिन्न मुलुकबाट नेपालको विमानस्थलमार्फत धेरैजसो कोकेन, सेतो हेरोइन लगायतका लागूऔषध ल्याइन्छन् । विशेषगरी अफ्रिकी र दक्षिण अमेरिकी मुलुकबाट यस्ता लागूऔषध भित्रिने गरेका छन् भने तस्करीमा संलग्न कयौं विदेशी पक्राउ पनि परेका छन् । तर हालैको दिनमा भने तेस्रो मुलुकबाट हुने लागूऔषध तस्करीमा पनि भारतीयको संलग्नता पाइन्छ ।

एक वर्षमा ७ महिलासहित ४५ जना भारतीय पक्राउ पर्दा उनीहरूको साथबाट १८ किलो कोकेन भेटिएको थियो । यो घटनाले अफ्रिकी र दक्षिण अमेरिकी मुलुकबाट पनि भारतीयहरू नै लागूऔषध बोक्न प्रयोग भइरहेको देखिन्छ ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट शृंखलाबद्ध रूपमा लागूऔषध ओसारपोसार हुनुले विमानस्थलको सुरक्षामा पनि प्रश्न उठाइरहेको छ । त्यसैले अविलम्ब लागूऔषध रूट बन्द गर्न, अन्तरदेशीय अपराध नियन्त्रण गर्न र राष्ट्रिय सुरक्षाका लागि विमानस्थलको सुरक्षा प्रणाली सुधार गर्न अत्यावश्यक भइसकेको छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।