काठमाडौं । दुर्गमका बस्तीहरू अब दुर्गम रहेनन् । सडक पुगेको छ, धेरै ठाउँमा त कालोपत्रेसमेत भइसकेको छ । विद्युत् छ, सामुदायिक विद्यालयमा विशाल पक्की संरचना बनेका छन् । तर, विकासको यो आशालाग्दो तस्बिरभित्र एउटा यथार्थ लुकेको छ ।
रामेछापका थुप्रै गाउँहरू अचेल सुनसान छन् । मानिसबिनाका गाउँका घरहरू खण्डहर बन्दैछन् । रामेछापको मन्थली नगरपालिका-८ स्थित चिसापानी कुनै बेला शिक्षित नेवार समुदाय र नाम चलेका मानिसले भरिएको बस्ती थियो ।
स्थानीयकाअनुसार एक दशक अघिसम्म त्यहाँ मानिसको चहलपहल थियो, त्यसैले जीवन्त थियो । अचेल यो गाउँ सुनसान छ । २५ घरमध्ये आधाभन्दा बढीमा मानिस छैनन् । केही त पूरै खण्डहर भइसकेका छन्।
रोजगारीको खोजी र अन्य कारणले मानिसहरू सहर पस्दा गाउँ शून्य बन्दै गएको हो । गाउँमा खेती गर्नसक्ने हातहरु छैनन्, । बूढाबूढीले जसोतसो लगाएको बाली पनि बाँदरलगायतका जङ्गली जनावरले खाइदिन्छन्।
त्यसैले चिसापानीका धेरै खेतबारी बाँझै छन् । गाउँघरको मायाले छोराछोरीले सहर आउन आग्रह गर्दा पनि अटेर गरेर बसिरहेका ज्येष्ठ नागरिकहरू पनि एकपछि अर्को गर्दै सहर पस्न थालिसकेका छन् ।
गाउँमा बाटो पुगेको छ । बिजुली बल्छ, विद्यालयमा पक्की भवन छन् । तर मान्छे छैनन् । अहिले गाउँको आवश्यकता रोजगारी र गुणस्तरीय शिक्षा हो । त्यो हुन नसक्दा चिसापानीको द्वारे टोलजस्तै रामेछापका धेरै गाउँहरू खण्डहर बनिरहेका छन् ।
विकास पूर्वाधार पुगे पनि मान्छे नअडिएको गाउँ, जहाँ खण्डहर बन्दै गरेका घरहरूले त्यो बेलाको चलायमान गाउँको कथा भन्छन् ।