‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

श्रावण १, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुर्नविचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताउनुभएको छ ।

बिहिबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीसँगको भेटमा उहाँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य गरिने बताउनुभयो । 

“महिनावारीमा ठुलो अन्धविश्वासले काम गरेको छ”, मन्त्री लेखकले भन्नुभयो, “यसको निर्मलीकरणका लागि कसरी अगाडि बढ्ने अन्तर पार्टी महिला सञ्जालको पनि सहयोग र सुझाव आवश्यक छ ।”

महिलामाथि हुने हिंसा, बलात्कारलगायतका घटनामा सरकार गम्भीर रहेको मन्त्री लेखकको भनाइ छ । “महिलाहरूको मर्यादा, गरिमा, स्वाभिमान र सुरक्षामा गम्भीर छु”, लेखकले भन्नुभयो, “अपराध गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम पनि भइरहेको छ ।”

सो क्रममा अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष ममता गिरीसहितको टोलीले महिला तथा बालबालिकामाथि हुने गरेको विभेद र हिंसाका घटना घटिरहेको भन्दै त्यसको नियन्त्रणका लागि मन्त्री लेखकलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.