रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीस्थित बफर खोलामा आएको बाढीले मन्थली–गेलु सडक पुनः बगाएको छ । गत शनिबारको बाढीपछि अवरुद्ध भएको सडक मंगलबार साँझ पुनः बाढीले बगाएको हो ।
स्थानीय भीम श्रेष्ठका अनुसार, बाढीले खोलामा राखिएको ह्युमपाइप बगाएपछि पाइपसँगै सडकको संरचना समेत क्षतिग्रस्त भएको छ । सडक अवरुद्ध भएपछि सदरमुकाम मन्थलीबाट वडा नं ८ हुँदै वडा नं ११ नाटिला र वडा नं १२ गेलु जोड्ने मार्ग टुटेको छ ।
उक्त सडक गत असोजमा आएको बाढीले बगाएको थियो । त्यसपछि नागबेली कन्स्ट्रक्सनले पूर्वाधार विकास कार्यालय रामेछापमार्फत पुनःनिर्माण गर्दै २४५ मिटर सडकमा ढलान गरेको थियो । मन्थलीको मझुवा र सो खण्डमा १ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको सडक निर्माणको क्रममा स्थानीय तहसँग समन्वय नगरिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका थिए ।
यता, निर्माण कम्पनी नागबेली कन्स्ट्रक्सनले भने बाढीले बगाएको ह्युमपाइप तथा सडक आफूहरूले निर्माण नगरेको दाबी गरेको छ । तर स्थानीयले निर्माणको गुणस्तर र समन्वयविहीन प्रक्रियालाई सडक बिग्रनुको मुख्य कारण मानेका छन् ।