नक्कली कागजात बनाएर स्पेन लैजाने समूहमाथि प्रहरीद्वारा अनुसन्धान सुरु

असार ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
नक्कली कागजात बनाएर स्पेन लैजाने समूहमाथि प्रहरीद्वारा अनुसन्धान सुरु

काठमाडौं । स्पेनमा आयोजित विकास तथा वित्तसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा सहभागी गराउने भन्दै नक्कली कागजात बनाएर लैजाने समूहमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा अनुसन्धान टिम बनाएको हो । 

ब्युरोले प्रधानमन्त्री सहभागी कार्यक्रममा पैसा लिएर पठाइएका व्यक्ति ठगिएका छन् कि छैनन् भनेर हेर्नेछ । त्यस्तै कार्यक्रममा सहभागी हुने भन्दै नक्कली कागजात बनाउनेमाथि पनि अनुसन्धान हुनेछ । प्रधानमन्त्री गएको समयमा भिजिट भिसा लिएर ३३ जना स्पेन गएको देखिएको छ भने ४९ जना कार्यक्रममा सहभागी हुन भन्दै पुगेका छन् । 

जुन अन्तिम सातामा कार्यक्रमका लागि गएका ४९ जनामध्ये एक साता अघिसम्म ४ जना मात्रै फर्किएको अध्यागमनको तथ्यांक छ । सोही समयमा भिजिट भिसाका लागि गएका ३३ जनामा २ जना मात्रै फर्किएका छन् । त्यसरी जानेहरूले बिचौलियालाई पैसा बुझाएर ठगिएको भन्दै उजुरी गरे प्रहरीले त्यसको पनि अनुसन्धान गर्नेछ । त्यस्तै कार्यक्रममा पुगेकाहरूका लागि बनाइएका कागजात नक्कली हुन सक्ने आशंका भएकाले त्यसमाथि पनि सीआईबीले अनुसन्धान गर्नेछ । 

नक्कली कागजात बनाएर पठाइएकाहरूमाथि मानव बेचबिखन र पैसा लिएर गएकाहरूले ठगिएको उजुरी दिए ठगीमा मुद्दा चलाउने गरी अनुसन्धान अगाडि बढाइएको सीआईबीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.