काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखको सरुवा गरेको छ ।
अध्यागमन विभागका महानिर्देशकमा गृह मन्त्रालयका प्रवक्ता समेत रहेका रामचन्द्र तिवारीलाई जिम्मेवारी दिएको छ । त्यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखमा नरहरि घिमिरेलाई पठाइएको छ ।
विभागका महानिर्देशक गोविन्द रिजाल गृह मन्त्रालयमा तानिएका छन् भने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख विष्णु कोइरालालाई दुई महिनामै हटाइएको छ ।
भिजिट भिसाको नाममा पैसा लिएर मान्छे पठाएको आरोपमा अध्यागमन कार्यालयकै तत्कालीन प्रमुख सहसचिव तीर्थ भट्टराईमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । त्यसपछि पनि विमानस्थल अध्यागमन कार्यालयमा सुधार नआएको गुनासो बढेपछि गृहले नयाँ नेतृत्व पठाएको हो ।