काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुबै सदनको बैठक बस्दैछ ।
जसअनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ ।
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको २३औं वार्षिक प्रतिवेदन, २०८२ पेस गर्नुहुनेछ । उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
त्यस्तै सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुनेछ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।