काभ्रे । मंगलबार रातिदेखि परेको अबिरल वर्षाका कारण अवरूद्ध बनेको विपि राजमार्ग काभ्रेको विभिन्न तीन स्थान बिहानदेखि पुनः सञ्चालनमा आएको छ।
रोशी गाउँपालिका-११ माम्ती, वडा नं. ९ पिन्थली र बिरूवाडाँडामा खहरे खोलाको भेल र लेदो आउँदा राजमार्ग दुबैतर्फ अवरूद्ध भएको थियो। राति झण्डै १० बजेदेखि पूर्ण रूपमा ठप्प रहेको सडक बुधबार बिहान ८:५० बजेबाट सुचारू भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोली तथा जेसीबीको सहायतामा बाटो पन्छाउने कार्य रातभर जारी रहेको र अवरूद्ध सडक बिहान सफलतापूर्वक खुलाइएको हो।
सडक सुचारू भएपनि यात्रु तथा सवारी साधनलाई आवश्यक सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अनुरोध गरेको छ।