काठमाडौं । लोकतन्त्रको जगेर्नामा कान्तिपुर टेलिभिजनले निर्वाह गरेको भूमिकाको धेरैले आज स्मरण गरेका छन् । नागरिकको आवाजलाई अझ बुलन्द बनाउँदै सुशासन र विकासका पक्षमा समाचार तथा कार्यक्रम प्रसारण गर्न तथा भ्रष्टाचार र अनियमितताको खबरदारी गर्न उनीहरूले सुझाव दिएका छन् । कृपाल गौतमले आज राजनीति, नागरिक समाज र अन्य क्षेत्रका व्यक्तित्वहरूसँग कुरा गरेर रिपोर्ट तयार पार्नुभएको छ ।
कान्तिपुर टेलिभिजनले समाजका विभिन्न क्षेत्रमा पुर्याएको योगदान अत्यन्त महत्त्वपूर्ण रहेको राजनीतिक दलका नेताहरूको भनाइ छ । हरेक अधुरा विषयलाई पूर्णता दिन कान्तिपुरले घच्घच्याउँदै आएकाले भविष्यमा कान्तिपुर अझ सशक्त भएर अगाडि बढ्नुपर्ने उनीहरूको सुझाव छ ।
जनतालाई सशक्त बनाउन समेत कान्तिपुरले भूमिका खेलेको उनीहरूको भनाइ छ ।
“कान्तिपुरको माध्यमबाट सूचना सम्प्रेषित हुने कुराले स्वयं जनताले समेत एक ढंगले आफूलाई शक्तिशाली महसुस गर्ने स्थिति पनि विगतका कैयन घटनाहरूमा हामीले पाएका छौं । यस कारण कान्तिपुरले नेपाली समाजमा, चाहे राजनीति वा राजनीति बाहिर पनि समाजका विभिन्न क्षेत्रहरूमा पुर्याएको योगदान अत्यन्त महत्त्वपूर्ण छ”, एमाले नेता गोकर्ण विष्टले बताउनुभयो ।
“कान्तिपुर अबल दर्जाको कार्य गर्दै आइरहेको छ र जनताको सुसूचित हुने अवसरलाई कान्तिपुरले प्रदान गरेको छ । भविष्यमा निरन्तर कान्तिपुर अझ बढी सशक्त भएर अगाडि बढोस्”, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।
योसँगै कान्तिपुरले अझ बढी निडर भएर स्वतन्त्रताका पक्षमा काम गरिदियोस् र खबरदारी गरोस् भन्ने सुझाव राजनीतिक वृत्तको छ ।
“मलाई लाग्छ खबरदारी पनि प्रशस्त गर्दै आएको आइरहेको छ कान्तिपुर मिडियाले”, माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले बताउनुभयो ।
यस्तै एमाले नेता योगेश भट्टराईले कान्तिपुर टेलिभिजनले जनविश्वास प्राप्त गरेको बताउनुभएको छ । “कान्तिपुर टेलिभिजनले जे इज्जत प्रतिष्ठा कमाएको छ त्यसलाई बचाउँदै अझै जिम्मेवार पत्रकारिता जिम्मेवार सञ्चारमाध्यमको रूपमा कान्तिपुर टेलिभिजन अगाडि बढोस्”, उहाँले भन्नुभयो ।
व्यापार, व्यवसाय र अर्थतन्त्रलाई गतिशील बनाउन पनि टेलिभिजनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको निजी क्षेत्रको बुझाइ छ ।
“निजी क्षेत्रको ८१ प्रतिशतभन्दा बढी अर्थतन्त्रमा जुन योगदान छ, यसलाई प्रवर्द्धन गर्ने, निजी क्षेत्रलाई खुला बजारमा लगेर आर्थिक गतिविधि बढाउने, रोजगारी सिर्जना गर्ने, आय धेरैभन्दा धेरै गर्ने विषयमा कान्तिपुर टेलिभिजनले सुरुदेखि एउटा महत्त्वपूर्ण भूमिका खेलेको छ । आउने दिनमा पनि यसलाई अझ फराकिलो बनाएर अझै निजी क्षेत्रको प्रवर्द्धनमा लाग्नेछ भन्ने मेरो एउटा विश्वास छ”, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बताउनुभयो ।
नागरिक समाजका प्रतिनिधिले भने लोकतन्त्र स्थापनाका लागि कान्तिपुर टेलिभिजनले निर्वाह गरेको भूमिकाको स्मरण गरेका छन् ।
“कान्तिपुर आइसकेपछि धेरै परिवर्तन भयो । विशेषगरी दोस्रो जनआन्दोलनका बेला कहाँ के भइरहेको छ भन्ने हेर्न यही टेलिभिजन मात्र थियो । आन्दोलनमा सहभागी हुने व्यक्तिहरूको छिनछिनमा समाचार प्रसारण भइरहन्थ्यो त्यसले गर्दा आन्दोलनमा ऊर्जा थप्ने काम गरेको थियो । उत्साह र उमंग ल्याउने काम पनि गरेको थियो । लोकतन्त्र स्थापनाका लागि कान्तिपुर टेलिभिजनमा प्रकाशित प्रसारित समाचारहरूले अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हामीले थाहा पाएका छौं”, नेपाल बार एसोसिएसनका अध्यक्ष विजयकान्त मिश्रले बताउनुभयो ।
पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरी कान्तिपुरले सामाजिक मुद्दा, पिछडिएका वर्गको उत्थानको पक्षमा र अनियमितता र बेथितिका विरुद्धमा सम्प्रेषण गर्दै आएका समाचार र सामग्रीको सराहना गर्नुहुन्छ ।
लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सधैं अग्रणी भूमिका निर्वाह गर्दै आएको कान्तिपुरले अझ सशक्त नागरिक आवाज प्रवाह गर्नुपर्ने धेरैको सुझाव छ ।