साफ अन्डर ट्वेन्टी च्याम्पियनसिप : नेपाल बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित

असार २९, २०८२ |खेल ब्युरो
साफ अन्डर ट्वेन्टी च्याम्पियनसिप : नेपाल बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित

काठमाडौं । बंगलादेशमा जारी साफ महिला अन्डर-ट्वेन्टी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-२ गोलले पराजित भएको छ । ढाकाको बसुन्धारा किंग्स एरिनामा भएको खेलमा दुई गोलले पछि परेको नेपालले पुनरागमन गरे पनि जित हासिल गर्न सकेन ।

खेलमा नेपालले कमजोर सुरुआत गर्‍यो । नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै बंगलादेशले १४ मिनेटमा अग्रता बनायो । बंगलादेशकी मोस्त मुनकी अख्तरको प्रहार गोललाइनबाट गंगा रोकायाले असफल क्लियर गरिन् । सो बललाई कुनै खेलाडीको मार्कमा नरहेकी बंगलादेशी फरवार्ड जाहना शिखाले शक्तिशाली प्रहारमार्फत गोल गरिन् ।

पहिलो हाफमा नेपाल २-० ले पछि पर्‍यो । ३६औं मिनेटमा शान्ति मारदीको क्रसलाई शिखाले कटब्याक गरिन् । गोलकिपर सुजताले सो प्रहार छेके पनि बल नियन्त्रणमा लिन नसक्दा सागोरिकाले गोल गरेकी हुन् । जारी प्रतियोगितामा सागोरिकाको यो चौथो गोल हो ।

खेलको ५४ औं मिनेटमा एक अर्काविरुद्ध हात हालाहालमा उत्रिएपछि नेपालकी सिमरन राई र बंगलादेशकी सागोरिकाले रातो कार्डको सजाय पाएका थिए। यससँगै दुवै टिम १० खेलाडीमा समेटिएको थियो ।

खेलको ७१ औं मिनेटमा नेपाल गोलको नजिक पुगेको भए पनि स्कोर गर्न असफल भयो । ७५ औं मिनेटमा मिना देउवामाथि ६ यार्ड बक्स नजिकै फल भएपछि नेपालले पेनाल्टी पाएको थियो । पेनाल्टीमा अनिशा राईले खेललाई २-१ को अवस्थामा पुर्‍याइन् ।

खेलको ८६ औं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालका लागि मिना देउवाले गोल गरेर खेल २-२ मा पुगे पनि बंगलादेशले थप १ गोल गरेपछि नेपाल ३-२ पराजित भएको हो ।