श्रमिकको न्यूनतम ज्याला निर्धारण गर्न बसेको बैठक बिनानिष्कर्ष टुंगियो

असार २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
श्रमिकको न्यूनतम ज्याला निर्धारण गर्न बसेको बैठक बिनानिष्कर्ष टुंगियो

काठमाडौं । श्रमिकको न्यूनतम ज्याला निर्धारण गर्न आज बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अगुवाइमा सिंहदरबारमा बसेको रोजगारदाता र श्रमिकका प्रतिनिधिहरूको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको हो ।

टेड्र युनियनकर्मीहरूले श्रमिकको न्यूनतम मासिक पारिश्रमिक कम्तीमा ३० हजार ४ सय ४३ रुपैयाँ पुर्‍याउन माग गरे पनि रोजगारदाताले सहमति जनाएका छैनन् । अहिलेको न्यूनतम पारिश्रमिक न्यूनतम १७ हजार ३ सय रुपैयाँ पुनरावलोकनका लागि तयार रहेको भए पनि श्रमिकको माग पूरा गर्न नसकिने रोजगारदाताहरूको भनाइ छ । 

हरेक दुई वर्षमा श्रमिकको ज्याला बढाउनु पर्ने कानुनी व्यवस्था भए बमोजिम पुनरावलोकन गर्न लागिएको हो । रोजदारदाता र श्रमिकहरूलाई मिलाउने अधिकतम प्रयास भइरहेको श्रम मन्त्रालयका सहसचिव प्रदीप कोइरालाले जानकारी दिनुभयो । रोजगारदाताका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र ट्रेड युनियनका तर्फबाट संयुक्त ट्रेड युनियनको सहभागिता रहेको थियो । अर्को बैठक असार ३२ गते बस्ने छ । 

रोजगारदाता र ट्रेड युनियनका बीचमा सहमति नभए साउन १ गतेदेखि लागू हुने गरी सरकारले नै श्रमिकको न्यूनतम ज्याला तोकिदिने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.