पूर्वमन्त्री घर्तीमगरको निधन

असार २७, २०८२ |मीनराज रोका
पूर्वमन्त्री घर्तीमगरको निधन

रोल्पा। राप्रपाका पुराना नेता तथा पूर्वमन्त्री बालाराम घर्तीमगरको निधन भएको छ ।

घर्तीमगरको उपचारको क्रममा शुक्रबार ललितपुरको बिएण्डबि हस्पिटलमा निधन भएको परिवारिक स्रोतले जनाएको छ। ८७ वर्षीय घर्तीमगर पञ्चायत कालदेखि बहुदलीय व्यवस्थासम्म झन्डै ३० वर्षसम्म मन्त्री बन्नुभएको थियो ।

वि.सं. १९९४ साउन १८ गते रोल्पाको साबिक मिझिङ गाविस-५ उपल्लोथर हाल सुनिलस्मृति गाउँपालिका-३ मा जन्मिनु भएका घर्तीमगर पछिल्लो समय परिवारसहित ललितपुरस्थित आफ्नै निवासमा बसोबास गर्दै आउनुभएको थियो ।

उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका घर्तीमगरले ऐतिहासिक घटनाक्रम-भाग १, राजयोग, मानव अधिकार : एक चिन्तनलगायतका पुस्तकहरू प्रकाशन समेत गर्नुभएको छ ।

उहाँका सातवटा छोरी रहेका छन् । घर्तीमगरका चार वटा छोरी र भाई विदेशमा रहेकाले दाहासंस्कार आइतबार वा सोमबार हुने उहाँको परिवारले जनाएका छन् । 


Image

मीनराज रोका

रोका कान्तिपुर टेलिभिजन रोल्पा संवाददाता हुन् ।