EXPLAINER : किन पटक पटक दुर्घटनामा परिरहेछन् बोइङका विमान ?

असार २६, २०८२ |असीम तिमल्सिना
EXPLAINER : किन पटक पटक दुर्घटनामा परिरहेछन् बोइङका विमान ?

गत जेठ २९ गते एअर इन्डिया फ्लाइट १७१ भारतको अहमदावाद विमानस्थलबाट बेलायतको लन्डनका लागि उड्न लागेको थियो । चालक दलका सदस्यसहित २ सय ४२ जना सवार बोइङ ७८७-८ ड्रिमलाइनर विमानले भुइँ छोडेको ३० सेकेन्ड आसपासमै उचाइ गुमायो । विमान अहमदावादको मेघानी नगर क्षेत्रको रहेको बीजे मेडिकल कलेजको होस्टल ब्लकतर्फ खस्यो र दुर्घटनाग्रस्त भयो । विमानमा सवार १ जना मात्र जीवित रहँदा विमान खसेको आवासीय क्षेत्रमा अन्य ३४ जनाले पनि ज्यान गुमाए ।

यो दुर्घटनाको कारण पत्ता लगाउन महिनौं लाग्न सक्छ । तर यस विमान दुर्घटनाले एउटा प्रश्न भने तेर्स्याएको छ, बोइङका विमान किन दुर्घटनामा परिरहेका छन् ? के बोइङ सुरक्षित छैन ?

सन् २०२० यता मात्र मानवीय क्षति भएका नभएका गरी कम्तीमा १० यात्रु क्षमताका र म्याक्सिमम टेकअफ वेट कम्तीमा ९ हजार १ सय किलो भएका कुल ५८ व्यावसायिक विमान दुर्घटनामा परेका छन् । यीमध्ये १७ वटा बोइङका विमान हुन् । यही अवधिमा उड्डयन क्षेत्रको अर्को विशाल कम्पनी एअरबसका भने केवल ८ विमान दुर्घटनामा परे । यति मात्र होइन, पछिल्लो पाँच वर्षको अवधिमा दुर्घटनाग्रस्त ठूला अन्तर्राष्ट्रिय यात्रु विमानको सूची निकाल्ने हो भने पनि बोइङ नै अग्रस्थानमा देखापर्छ ।

२७५ जनाको ज्यान जाने गरी गत जेठ २९ गते दुर्घटनामा परेको एअर इन्डिया फ्लाइट १७१ होस् वा १७९ जनाको ज्यान जाने गरी गत डिसेम्बर २९ मा दुर्घटनामा परेको जेजु एअर फ्लाइट २२१६ होस् । अथवा १३२ जनाको ज्यान जाने गरी सन् २०२२ को मार्च २१ मा भएको चाइना इस्टर्न एअरलाइन्स फ्लाइट ५७३५ नै किन नहोस् । यो बीचमा ठूला मानवीय क्षति बोइङकै विमानमा भएको छ ।

सन् २०२० यता यात्रु र चालक दलका सदस्य गरी बोइङमा ८१६ जनाको ज्यान गएको छ भने एअरबसमा सवार केवल ९८ जनाको ज्यान गएको छ ।

बोइङ र एअरबस उड्डयन उद्योगमा द्वयधिकार कायम गरेका प्रतिस्पर्धी कम्पनी हुन् । विश्वभर हुने ठूला विमान खरिद सम्झौतामा ९९ प्रतिशत हिस्सा बोइङ र एअरबस मात्रैको रहेको वाल स्ट्रीट जर्नलले उल्लेख गरेको छ । तर यिनीहरूको दुर्घटनाको दरमा किन आकाश पातालको फरक छ ? के बोइङका विमानको निर्माण प्रक्रियामै त्रुटि छ ?

बोइङमाथिका यी प्रश्न हालैका दुर्घटनाहरूले सिर्जना गरेका होइनन् । बोइङ वर्षौंदेखि प्रश्नको घेरामा छ । बोइङमाथि शंकाको सुविधा दुई ठूला दुर्घटनाले दिएका हुन् । पहिलो हो, सन् २०१८ को अक्टुबरमा भएको लायन एअर फ्लाइट ६१० को दुर्घटना । 'बोइङ ७३७ म्याक्स ८' यो विमान स्टल हुनबाट जोगाउने अर्थात् थामिनबाट जोगाउने एमसीएएस प्रविधिमा आएको खराबीका कारण दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा १८९ जनाको ज्यान गएको थियो ।

यसको पाँच महिनापछि नै सन् २०१९ को मार्चमा इथिओपिअन एअर फ्लाइट ३०२ दुर्घटनाग्रस्त भयो । १५७ जना मारिए । यसको कारण पनि उही एमसीएएस प्रविधिमा भएको खराबी । यो पनि उही 'बोइङ ७३७ म्याक्स ८' विमान । यी दुई दुर्घटनाले बोइङलाई पहिलो पटक सार्वजनिक सुपरीवेक्षणमा उभ्याएको थियो । मार्च २०१९ देखि २०२० को डिसेम्बरसम्म बोइङ ७३७ म्याक्स ८ विमान विश्वभर ग्राउन्डेड भयो ।

यी दुई घटनालाई लिएर न्युयोर्क टाइम्सले बोइङका एक वरिष्ठ इन्जिनीयरको उजुरीलाई उद्धृत गर्दै भनेको छ- बोइङले खर्च कटौतीका लागि सुरक्षा प्रणाली अस्वीकार गरेको थियो जसले यी दुई ठूला दुर्घटनाको सम्भावित जोखिम कम गर्न सक्थ्यो । न्युयोर्क टाइम्सको सोही रिपोर्टमा उल्लेख छ- बोइङ ७३७ म्याक्सको डिजाइन र निर्णय प्रक्रियाको समस्यामाथि बोइङका कैयौं पूर्व र वर्तमान कर्मचारीहरूले छलफलका क्रममा कम्पनीका प्रबन्धकले इन्जिनीयरका सिफारिस खारेज गर्दै नाफालाई प्राथमिकतामा राखेको बताएका थिए ।

बोइङका अर्का इन्जिनीयर कर्टिस इवब्यांक, जसले ७३७ म्याक्सको ककपिट सिस्टममा काम गरेका थिए, सन् २०१९ मा बोइङविरुद्ध उजुरी नै हाले, र भने, बोइङका प्रमुख कार्यकारीले सार्वजनिक रूपमा विमानको सुरक्षा प्रणालीलाई गलत ढंगले प्रस्तुत गरे ।

बोइङले ७३७ म्याक्सको निर्माणमा त्रुटि र लापरबाही गरेको देखिने दृष्टान्त पनि न्युयोर्क टाइम्सले अर्को एउटा रिपोर्टमार्फत उजागर गरेको थियो ।

सन् १९६० को दशकमा पहिलो पटक विकसित ७३७ विमान त्यसपछि कैयौं पटक अद्यावधिक गरिएको थियो । जसले यसलाई व्यावसायिक जेट विमानहरूमध्ये सबैभन्दा लोकप्रिय बनायो । यसपछि सन् २०११ मा बोइङले एउटा नयाँ मोडल विकास गर्ने सोच बनाएको थियो । यद्यपि, परस्पर प्रतिस्पर्धी एअरबसको उकालिँदो यात्राले बोइङमाथि दबाब सिर्जना गर्‍यो । र उसले नयाँ मोडल होइन, ७३७ लाई नै पुनः अद्यावधिक गर्ने निधो गर्‍यो । यो एउटा निर्णायक बिन्दु थियो ।

७३७ लाई अद्यावधिक गर्ने क्रममा ठूला इन्जिन राखियो जसले विमानको एअरोडाइनामिक्स नै परिवर्तन गरिदियो । यो परिवर्तनले केही परिस्थितिमा विमान स्टल हुनसक्ने सम्भावित जोखिम बढाइदियो । स्टल हुनबाट जोगाउन बोइङले एमसीएएस प्रविधि विकास गर्‍यो । यो यस्तो प्रविधि हो जसले विमानलाई स्थिर बनाउन केही अवस्थामा नोज अर्थात् अघिल्लो भागलाई तल धकेल्छ ।

तर समस्या कहाँ भइदियो भने एमसीएएस विमानका दुईमध्ये केवल एक एंगल अफ अट्याक सेन्सरले उपलब्ध गराउने डेटामा निर्भर थियो । यो सेन्सर विमानको बाहिरी भागमा हुन्छ जसले आकाशमा विमानको अवस्थिति नियमन गर्छ । यही एमसीएएसको खराबीले गर्दा लायन एअर र इथिओपियन एअर दुर्घटनामा परेको थियो ।

त्यसैले बोइङको निर्माण मात्र होइन, निर्णय प्रक्रियामाथि पनि प्रश्न गरिएको हो । सन् २०११ मा ७३७ लाई अद्यावधिक गरेर ७३७ म्याक्स बनाउनु साटो नयाँ मोडल विकास गरिएको हुन्थ्यो भने केही ठूला मानवीय क्षति रोक्न सकिन्थ्यो कि ?

हेर्नुहोस् भिडिओ :

अब एकैछिन भारतमा भएको दुर्घटनामा केन्द्रित होऔं । अहमदाबादमा भएको एअर इन्डिया फ्लाइट १७१ मा भने ७८७-८ ड्रिमलाइनर विमान दुर्घटनामा परेको हो । ७३७ म्याक्स अथवा अरू मोडलको तुलनामा यसको सुरक्षा रेकर्ड यसअघि राम्रै मानिन्थ्यो । यद्यपि, ड्रिमलाइनरमाथि पनि प्रश्न नउठेको भने होइन । गुणस्तरमा प्रश्न उठाउँदै ड्रिमलाइनरको डेलिभरी एक वर्षभन्दा लामो समय प्रतिबन्ध गरिएको थियो । पछि प्रतिबन्ध फुकुवा गरियो ।

यसबाहेक पनि केही विशलब्लोअर (सचेतक) ले ड्रिमलाइनरको एसेम्बलिङमा त्रुटि भएको र यसले विमानलाई प्रिमच्योर ड्यामेज गर्न सक्ने भन्दै सचेत गराएका थिए । यस्तै एक विशलब्लोअर हुन् जन बार्नेट । बोइङमै काम गरेको तीन दशकभन्दा बढी अनुभव भएका र ७८७ उत्पादन हुने बोइङ साउथ क्यारोलिना प्लान्टमा क्वालिटी कन्ट्रोल म्यानेर रहेका बार्नेटले सन् २०१९ मा तार तथा उपकरणहरू उपयुक्त ढंगले राख्ने नगरिएको, पर्याप्त पुर्जा नै नराख्ने गरिएको जस्ता आरोप लगाएका थिए । उनले विमानको आपत्कालीन अक्सिजन प्रणालीको फेलर रेट अर्थात् असफलताको दर २५ प्रतिशतसम्म रहेको दाबी गरेका थिए । त्यसपछि बोइङसँग वर्षौं लामो कानुनी लडाइँ लडेका बार्नेटले सन् २०२४ मा आत्महत्या गरे । उनको सुसाइड नोटमा लेखिएको थियो, ‘म योभन्दा बढी केही गर्न सक्दिनँ, म कामना गर्छु, बोइङले भोग्नेछ ।’ बोइङविरुद्ध बोलेकामा बोइङले बदला लिएको बार्नेटको आरोप थियो ।

बोइङका एअरक्राफ्ट मात्र होइनन् स्पेसक्राफ्टमाथि पनि प्रश्न छ । करिब एक साताका लागि भनेर बोइङको स्टारलाइनरमा अन्तरिक्षमा गएका सुनिता विलियम्स र बुच विलमोर २८६ दिन बिताउन बाध्य भए । कारण- थ्रस्टरमा देखिएको खराबी र हिलियम ग्यास लिक ।

यूरो न्युजका अनुसार बोइङ आफैंले सन् २०२३ मा एउटा आन्तरिक प्रतिवेदन तयार पारेको थियो । जसमा सन् १९५९ देखि सन् २०२२ सम्ममा २ हजार १२३ वटा बोइङ विमान दुर्घटना भएको उल्लेख छ । यीमध्ये ३ सय दुर्घटना सन् २०१० देखि सन् २०२० को बीचमा भएको उल्लेख छ ।

अमेरिकी कम्पनी बोइङ र जर्मनी, फ्रान्स, स्पेन तथा ब्रिटिश बीएई सिस्टम मातहतको युरोपेली बहुराष्ट्रिय कम्पनी एअरबसले उड्डयन उद्योगमा अमेरिका-युरोपको द्वयधिकार मात्र कायम गरिरहेको छैन, काउन्टर ब्यालेन्स पनि बनाइराखेको छ । जस्तो, सन् २०२३ मा एअर इन्डियाले बोइङ र एअरबस दुवैसँग कीर्तिमानी ४७० वटा विमान खरिद गर्न अर्डर प्लेसमेन्ट गरेको थियो । त्यसमध्ये २५० वटा एअरबस थिए भने २२० वटा बोइङ । लगत्तै थप एक सय एअरबस गरी कुल ५७० विमानको अर्डर एअर इन्डियाले दिएको थियो ।

अर्कोतर्फ राष्ट्रिय ध्वजावाहकको रूपमा बोइङ किन्ने कि एअरबस भन्ने कुरा अहिले अन्तर्राष्ट्रिय सम्बन्ध र प्रोक्युअरमेन्ट डिप्लोमेसी अर्थात् खरिद कूटनीतिको एउटा हिस्सा जस्तै बनेको छ । गत मे महिनामा अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले आफ्नो कतार भ्रमणका क्रममा पनि २१० वटा बोइङ बिक्रीको महत्त्वपूर्ण सम्झौता गरेका थिए ।

तर पछिल्ला दुर्घटनाहरूले बोइङको छविमा नराम्रो दाग लगाइदिएको छ । बोइङप्रति प्रश्न तेर्स्याएको छ । यसले उड्डयन उद्योगमा युरोपकेन्द्रित ध्रुवीकरण पनि सिर्जना गर्न सक्छ जसले समग्र अन्तर्राष्ट्रिय सम्बन्ध र खरिद कूटनीतिमै प्रभाव पार्न सक्छ ।


Image

असीम तिमल्सिना

असीम तिमल्सिना कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।