उदयपुर । पूर्व-पश्चिम मदनभण्डारी राजमार्ग सञ्चालनमा आएको धेरै भएको छैन् । तर यो सडकमा दुर्घटनाको दर भने उच्च देखिएको छ । डेड वर्षयता सवारी गुड्न थालेको मदनभण्डारी राजमार्गको उदयपुर खण्डमा दुर्घटना र क्षतिको तथ्यांक अत्यास लाग्दोछ ।
मदनभण्डारी राजमार्ग उदयपुरको बसाहादेखि सिन्धुलीको भिमानसम्म जम्मा १३४ किलोमिटर पर्छ । उदयपुरमा पर्ने ९१ किलोमिटर क्षेत्रमा गएको एक वर्षको दुर्घटनाको तथ्यांक हेर्दा ३२ जनाले ज्यान गुमाएका छन् भने ५१७ जना घाइते भएका छन् । २६० दुर्घटनामा ३४९ वटा सवारीसाधन क्षति भएका छन् । दुर्घटना नभएको दिन हुँदैन ।
यस राजमार्गअन्तर्गत नेपालटार-गाईघाट सडक खण्डको उदयपुरगढी गाउँपालिका-७ अधेारीदेखि जोगीटोलसम्म तीन किलोमिटर बाक्लो जङ्गल, ओरालो र चिल्लो छ । सबैभन्दा बढि दुर्घटना यही क्षेत्रमा हुने गरेको छ ।
त्यस ठाउँमा स्थानीय प्रशासन, जिल्ला प्रहरी, ट्राफिक प्रहरी र सडक कार्यालयले दुर्घटना न्यूनीकरण र सतर्कताका विभिन्न उपाय नअपनाएका होइनन् । दुर्घटनाग्रस्त क्षेत्रको संकेत, बोर्ड र सडकमागि रबरस्टि्रप राखिएका छन् । तर, दुर्घटनामा कमी आएको छैन् ।
राजमार्ग निर्माण सम्पन्न भइनसक्दै दुर्घटनाको अवस्था उच्च देखिनुमा सरकारको इन्जिनियरिङ त्रुटीका साथै सवारीसाधनको तिव्रगतिलाई मुख्य कारण मानिएको छ । राजमार्गमा अत्याधिक मोड छन् ।
घुम्ती सडकमा चालकले तिव्र गतिमा सवारी चलाउने गरेका छन् । ४० किलोमिटर प्रतिघण्टा भन्दाबढी गतिमा नकुदाउन सचेत गराइएको आधेरी क्षेत्रमा समेत ८० किलोमिटर भन्दाबढीको गतिमा कुदाउने गरेको पाइएको छ ।
सरकारले सडक सुधारमा ध्यान दिनुपर्ने एउटा पाटो छँदैछ भने चालक र यात्रुले ट्राफिक नियम पालना र सतर्कता अपनाउँदै तोकिएको गतिभन्दा बढी नकुदाउने हो भने दुर्घटनाको संख्या घट्ने सडक विज्ञहरू बताउँछन् ।